चलचित्र क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक छ : मन्त्री सिन्हा

डिसी नेपाल
१३ फागुन २०८२ २२:४३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आधुनिक नीति, प्रविधि र लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन्।

सेलिब्रेटी नेपाल फाउन्डेसनद्वारा आज आयोजित ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा उनले यस क्षेत्रको व्यवसायीकरण तथा विकासले रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्‍याउने बताए।

गुणस्तरीय फिल्म, नीतिगत सुधार, पूर्वाधार विकासले नै चलचित्र उद्योगलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सकिने बताउँदै मन्त्री सिन्हाले यस क्षेत्रमा रहेका विकृतिहरूको अन्तः गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने र दर्शकहरूलाई हलसम्म ल्याउने वातावरण चलचित्र व्यावसायीले बनाउनुपर्ने उल्लेख गरे।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको बृहत्तर विकासका लागि समयसापेक्ष नयाँ नीति र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

संयोजक सुरज पौडेलले यस क्षेत्रको विकासका लागि प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। सो अवसरमा चलचित्र पत्रकार कृष्ण भट्टराईलाई ‘पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.