निर्वाचनको मिति नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा
रौतहट। निर्वाचनको मिति नजिकिएसँगै रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न नाकाहरूमा विशेष निगरानी बढाइएको हो। विशेषगरी रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत पर्ने लतमरी सीमावर्ती नाकामा सशस्त्र प्रहरी बलले कडा चेकजाँच सुरु गरेको छ। सीमा क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल र अन्य सवारी चालकहरूको अनुमतिपत्र तथा आवश्यक कागजातहरूको परीक्षण भइरहेको छ।
निर्वाचनको समयमा सीमापारिबाट हातहतियार, विष्फोटक पदार्थ, मदिरा र लागुऔषध जस्ता अवैध वस्तुहरू भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए।
उनका अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडी (फागुन १८ गतेदेखि) सीमा नाका पूर्ण रूपमा बन्द गरिने छ। मतदाताहरूले भयरहित वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले जिल्लाभर मदिरा बिक्री–वितरणमा समेत प्रतिबन्ध लगाइएको छ।
सुरक्षा निकायले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र निर्वाचन आचारसंहिताको पालना गराउन चौबीसै घण्टा गस्ती र निगरानी गरिरहेको जानकारी दिएको छ।







डिसी नेपाल







Facebook Comment