नास आइटी र टीजेएफबीच सहकार्यको सम्झौता
काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच प्रविधि क्षेत्रको विकास, ज्ञान आदानप्रदान र सूचना प्रवाहलाई सुदृढ गर्ने उद्देश्यसहित सहकार्यको समझदारी भएको छ।
बुधबार आयोजित कार्यक्रममा नास आइटीका अध्यक्ष गौरव राज पाण्डे र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार दुवै संस्थाले प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि संयुक्त रूपमा तालिम कार्यक्रम सञ्चालन गर्नेछन्। सफ्टवेयर विकास, सूचना प्रविधि सेवा, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, मेशिन लर्निङ, ब्लकचेन लगायतका विषयमा नास आइटीले टीजेएफका सदस्यलाई ज्ञान आदानप्रदान तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
टीजेएफले नास आइटी वा त्यसका सदस्य तथा प्रविधि विज्ञसँग सहकार्य गर्दै सूचना प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन, प्रवृत्ति र साइबर सुरक्षासम्बन्धी विषयमा सामग्री तयार गरी आफ्ना सदस्य सञ्चार माध्यममार्फत व्यापक रूपमा प्रसारण गर्नेछ।
त्यसैगरी, आवश्यकताअनुसार कार्यशाला, गोष्ठी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता र अवलोकन भ्रमणका अवसर उपलब्ध गराउन दुवै पक्षले सहकार्य गर्ने सहमति भएको छ।
सम्झौतामा प्रत्येक वर्ष सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कम्तीमा एक संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने व्यवस्था गरिएको छ। कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन आपसी सहमतिमा तय गरिने उल्लेख छ।
एक वर्षका लागि मान्य रहने उक्त समझदारी पत्र नेपालका कानुनअनुसार कार्यान्वयन हुनेछ। दुवै पक्षले आपसी सहमतिमा संशोधन गर्न सक्ने र विवाद उत्पन्न भएमा परामर्शमार्फत समाधान गर्ने प्रावधानसमेत राखिएको छ।







डिसी नेपाल







Facebook Comment