लघुकथा : मत

भूमिका गैरे तिमिल्सिना
१६ फागुन २०८२ ८:०६
16
Shares

“कति मोबाइल मात्र हेरेको? करेसाबारीमा तरकारी लगाउनु पर्‍याे।” बुढीले बुढालाई भनिन्।

म आइहाले एकछिन है भन्दै उसैमा सर्वस्व भएझैं घोरिए। उनले झिझिएको स्वरमा, “कति प्यारो हो, के छर त्यस्तो? मोबाइल चलाएर को करोडपति बनेछ, साथी नै त्यहीँ, को आयो, को गयो? अहँ अत्तोपत्तो छैन।” उनी झर्किइन्।

फेरि फतफताउँन थालिन्, “छिमेकमा सबैले हरियै बनाइसके आफ्नो हेर केही छैन?”

उनी आए र भने, ” गफ चुट्न मात्रै जानेकी छस्, खै छड् भन्दै कोदाली समाए र खन्न थाले।” उनी चुपचाप पछिपछि लागिन्।

त्यतिकैमा एक हुल आए अनि नमस्कार गर्दै भन्न थाले, “म पल्लो गाउँको श्यामको छोरा गोकर्ण क्या चिन्नु भएन। म यसपाली चुनावमा उठेको छु। गिलासको चिन्ह देखाएर यसैमा छाप लगाउनु है भन्दै सिकाए।” उनले टाउको हल्लाएर सहमति जनाए।

एकछिनपछि फेरि अर्को हुल आए र नमस्कार गरे। उनीहरूले पनि, “घन्टी छाप देखाएर त्यसैमा छाप लगाउँन सिकाए। अपिलका साथै प्रतिवद्धता पत्र पनि दिए।” उनले हस् भन्दै प्रतिक्रिया जनाए।

फेरि अर्का हुल आए र विनम्रता देखाए। “चुनावको चिन्ह देखाउँदै छाप लगाउँन सिकाए, घोषणापत्र छाडे।” उनले हल्का मुस्कानले अवश्य भन्दै विदा गरे।

सबै नियाली रहेकी बुढीलाई खपिनसक्नु भयो। उनले आश्चर्य एवम् उपेक्षा मिश्रित स्वरमा भनिन्, ” हैन के हो? जसलाई नि टाउको हल्लाउँदै सहमति जनाउँने, जता काफल पाक्यो उतै चरी नाच्यो त गर्नु भएन नि!” उनले तिक्तता व्यक्त गरिन्।

बुढाले मन्द मुस्कान दिँदै ठ्ट्याउँलो पारामा भने, “चुनावको माहोलमा किन निराश गर्नु? मतको अड्कलबाजी गरून् न, आफ्नो कुरा आफैंसँग छत!” उनले साउती मारे।

लघुकथा : परिभ्रमण

“परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!” छोरी एकसुरले बर्बराई।

सँगै सुतेकी आमाले नराम्रो सपना देखिछ क्यार भन्दै झक्झकाइन्। उनले हातगोडा मसार्दै सोधिन, ” के भयो, डरलाग्दो सपना आयो र?”

ऊ झस्किई, एकटकले नजर घुमाई र भनी, ” म कहाँ छु भन्दै गिलासको पानी घटघट पिई।”

आमाले फेरि स्नेहले सोधिन्, ” के देख्यौ सपनामा, किन डराएकी ? ऐंठन भएर हो।” उनले सुमसुम्याइन्।

उसले वृतान्त बताई, ” घनघोर जंगलमा युवाहरू अन्याय, बेथिति र भष्ट्राचारका विरुद्धमा लडेका छन्। उनीहरू अहिलेको पुस्ताको मागका कुरा गरेका छन् भने अर्कोतर्फ उनीहरूको आवाज दबाउन खोजिएको छ।” उसले भयभित हुँदै भनी।

उनले उदेक मान्दै, ” हैन तैले भदौ २३ र २४ को जेनजी आन्दोलनको नरसंहार त देखिनस्। त्यो इतिहासकै कालो दिन सत्ता परिवर्तनका निम्ति कैयौंले ज्यान गुमाएको, कहालीलाग्दो दिन।” छोरीको मनसपटलमा गहिरो छाप परेकोमा उनले दु:ख व्यक्त गरिन्।

उनले फेरि उपेक्षाले भरिएको गह्रौं स्वरमा भनिन्, ” व्यवस्था परिवर्तनका निम्ति रगतको होलि खेलेका ती युवाहरूको बलिदान तर आज सिष्टम र परिपाटी भने उहीं पुरानै, कतै व्यर्थ जाने त होइन ?” उनले टाउकोमा हात राखेर मौनता साधिन्।

लघुकथा : मौका

नदीमा खैलाबैला मच्चियो।

पानीको बहावसँगै छालले पनि बाँध नाघ्ने प्रयत्न गर्‍याे। किनारमा रहेका मान्छे र फाटफुटे पसल एकाएक बेपत्ता भए। पानीको छाल छचल्किएको देखेर जलविहारका सबै सुविधा बन्द गरियो। मान्छेहरू लाम लागेर अनेक टिकाटिप्पणी गरेको देखियो, सबै मुखदर्शक भएका थिए।

पानीको भित्री सतहमा माछाका प्रजाति बीचमा अस्वस्थ प्रतिस्पर्धा चल्यो। साना माछाहरु आपसमा लडेकाले ऊ मौन छ। लडाकु माछाले भन्यो, “ठोकठोक छोड्नु हुँदैन छोड्नु हुँदैन, यही हो मौका। जसको शक्ति उसको भक्ति।” ऊ रन्कियो।

चर्काचर्की सुनेर रहु माछाले सावधानी अपनायो र चलाखी देखायो। ऊ पनि लहैलहैमा लग्यो अनि सही थाप्दै भन्न थाल्यो, “नछोड नछोड, सुरक्षा सुरक्षा, समानता समानता।” उसले पनि समर्थन जनायो।

सहर माछा पनि चुप लागेर बस्न सकेन, उसले सहमति देखायो र भन्यो, ” न्याय होस् न्याय होस्, अन्याय गर्न पाइँदैन पाइँदैन।” उसले पनि थप बल दियो।

भोटी माछा आनन्दले बस्न सकेन् ऊ नाच्दै बोल्यो, “आवाज बुलन्द होस् बुलन्द होस्, झुक्दैनौं झुक्दैनौं।” उसले शासकसामु नझुक्ने अठोट लियो।

केही पर रहेको चुच्चे वाम माछा सल्बलाउँदै आयो र परिस्थिति नियाल्यो। उसले पनि चर्को स्वर गर्न थाल्यो, ” होहो, एकतामा बल छ बल छ, एकजुट एकजुट।” उसले पनि होस्टेमा हैँसे दियो।

सबै सुनिरहेको असला माछाले सौम्य भावले मिलाउन खोज्यो तर कसैले सुनेनन्। व्यर्थ रह्यो, ऊ विरक्तियो।

उसले ठुलो माछा सामु बिन्ति बिसायो। ऊ आयो तर शान्त थियो। ऊ गम्भीर हुँदै बोल्यो, “मौका आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन भन्थे, तिमीहरूको विवेक अझै किन पलाएन हँ?” उसले समकालीन परिस्थिति दर्सायो।

लघुकथा : छाप

हस्याङ्फस्याङ् गर्दै दौड्दै आएर नातिले भन्यो, “आमा आमा सबैले बाटोमा घन्टी बजाएका छन्, किन हो?” ऊ चकित हुँदै आत्तिएको स्वरमा भन्यो।

फेरि लरबराउँदो स्वरले थप्यो, ” हाम्रो पूजाकोठाकै जस्तो घन्टी छ, तर बाइकपछाडि बसेका सबैले चुपचाप घन्टी छाप भन्दै त्यहीँ बजाएका छन्।” उसले उत्सुकताले भरिएको नजर जुधाउँदै बोल्यो।

अबोध नातिको जिज्ञासाले भरिएका प्रश्नले उनको मन चसक्क छोयो, “अहिले चुनावको माहोल छ के बाबु, त्यसैले आफ्नो पार्टीको प्रचार गरेका हुन्।” उनले सुम्सुम्याउँदै भनिन्।

“अनि घन्टी त मन्दिरमा पूजा गर्दा बजाउँने होइन र बाटामा बजाउँछन् त काहीं?” उसले आश्चर्य मान्दै कुतुहलता मेटायो।

उनले, “यो त चुनावको पार्टीको एक निशान मात्र हो, यसैमा भोट हाल्नुस् है, भनेका हुन्।” उनले अर्थ्याइन्।

ऊ रमाइलो मान्दै उहीँ हुलमा मिसियो र तोते स्वरमा सहमति जनाउँदै नारा लगाउँन थाल्यो, “जिन्दावाद जिन्दावाद!”

एकले व्यङ्ग्य कस्दै सोधे, “बाबु ठुलो भएसी केमा भोट हाल्छौ नि?” उसले सहजै बोल्यो, ” घन्टीमा घन्टीमा।” ऊ खुसी हुँदे उफ्रियो।

उसको बालमनोविज्ञानमा गहिरो छाप परेछ। घरमा आएका पाहुनाले ढोकानजिकको बेल बजाए । ऊ भित्रबाटै भन्दै थियो, “चुपचाप घन्टी छाप घन्टी छाप, मेरो भोट घन्टीमा घन्टीमा ।” ऊ एकोहोरो बर्बरायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.