कविता : हाँसेको र रोएको आँसु
मनभरिको आँसुले बोल्छ दिल कसरी बुझाउँ
दिल तोड्नेलाई म कुन कथा कसरी सुनाउँ
बिछोड प्रेममा किन हुन्छ त्योपनि म जान्दिन
प्रेमैले ताजमहल बन्छ फेरि म बुझ्न सक्तिन।
हाँसेको आँसुको थोपामा हीरा मोती टल्किने
रोएको आँसु तप्कामा गोला बारुद झल्किने
अर्काको आँसु बग्दामा कोही हाँसेर हिँड्ने
स्वयंको आँसुको बाधा किन कसले नबुझ्ने।
हाँसेको आँसुको मोल कसले कसरी तौलने
रोएको मनको मोल त्यो कुन तोलामा तौलिने
सुखमा आँसुको धारा मन त्यो खुसी हुने
दुःखका आँसुका भाका त्यो धरधरी रुवाउने।
कमलो मनको आँसु छिटो कसरी झर्दछ
छोटो मनको हेर गोहीको आँसु झैं बग्दछ।
हाँसेर मनको आँसु झार्ने थोरै छन् विश्वमा
रोएर आँखमा आँसु बगाउने छन् अरबौं यहाँ।
सुखको जीबनमा क्षणिक आनन्द मिल्दछ
दुःखको जीवनमा सधैं भित्र मन जल्दछ
चोखो प्रेम गरी हेर दयावान बनिकन
बस्नेछौ तिमी जीवनमा आँसु नझारीकन।
आँखालाई भनिदेउ आँखाबाट नझार आँसु
जो आगो लागेको छ मनमा रोएर नबुझाउ
सक्छौ भने संसारमा कहिले प्रेम नगर
यो प्रेमसँग कसैले अब सम्झौता नगर।
प्रेममा मिलन हुँदा खुसीको आँसु झर्दछ
बिछोडमा दुवै आँखाबाट दुःखको आँसु बग्दछ
साना शरीरका छिद्र सब प्रेमले टालियोस्
खुलेर आउ प्रेममा भित्र ईश्वर झल्कियोस्।
संसार बुझने त्यो हो जो सधैं हाँसेर बस्दछ
दुःख र सुख बुझ्ने मानव मानिसबाट उठ्दछ
खेलाउ भित्रको आत्मा भित्र भित्रै खेलिकन
टुसाउ प्रेमको आँकुर दुखीमाथि दया राखिकन।
नझरोस् वियोगको आँसु संसारमा कहिँपनि
झरोस हाँसोको आँसु यो विश्वमा जहीं तहीं
झरोस हाँसोको योआँसु विश्वमा जहीं तहीं।
आन्दोलन
नेपाली आकासमा आन्दोलन भइरहेछन्
सारा युवाहरु सडकमा निस्किइ रहेछन्
भ्रष्टाचारको बिरोधी नारा गुन्जिइ रहेछन्
आमुल परिवर्तनको बाटो खोजी रहेछन्।
अराजकता, अनैतिकता निरंकुुश बढ्दै रहेछ
युवाहरु सडकमा आक्रोश पोखी रहेछन्
अत्याचारको सीमा नाघी रहेछ
देश ठूलो संकटमा परिरहेछ।
गोली बारुदका बर्षा भइ रहेछ
प्रहरी आन्दोलन छाडी भागी रहेछन्
आन्दोलनकारीहरु अगाडि बढी रहेछन्
आन्दोलनको नारा घन्काइ रहेछन्।
के भयो देशमा सुनसान सब देखिने
जताततै जलेका महलमात्र भेटिने
जलेका नोटमा हेरी नेताको मुख देखिने
महंगा रक्सी भित्र राष्ट्रको ढुकुटी भेटिने।
आन्दोलन गरी हिँड्छन् घरी घरी सडकमा
मरे आन्दोलनकारी मर्छन् हाम्रो त्यो सडकमा
कुनै नेतापनि मर्दैनन् जस्तै आन्दोलन भएपनि
नेताको आचरण फेरिन्न कस्तै आन्दोलन भएपनि।
भ्रष्टाचार बढ्यो आन्दोलन अब एक भो
आन्दोलन नै गरी बस्ने जनताको बानी भो
चाहिन्न अब आन्दोलन देश खोक्रो भइ सक्यो
देशको समृद्धि सबै आन्दोलनमा गुमी सक्यो।
मुहार फेरिएलाकी भनी आन्दोलन गरी रहेछन्
पुरानै नेताहरुको मुख ताकी बसीरहेछन्
होसियार नव उर्जा अब चम्किँदै अघि बढ्दैछ
नया युवाको सोचले भविष्यलाई चम्काउनेछ।
नगरौं अब आन्दोलन जनता दिक्क बनी सके
तमाशा कति हेर्ने हो सबै आजित भई सके
त्रसित मनले बन्दैनन् केही र कोहीपनि
आशा र उमंग जन्मेर मर्दछन् जुनैपनि।
नगरौं अब आन्दोलन देश धेरै बिग्रिसक्यो
अस्ताचलमा सब थोक पुगी सक्यो
भ्रष्टाचार नगरौं इम्मान्दारी बनांै सधै
देसको माटो समाती देशको रक्षा गरौँ सधै















Facebook Comment