पिपल्स क्याम्पसमा डिजिटल बैंकिङ सचेतना कार्यक्रम
काठमाडौं। डिजिटल प्रविधिको तीव्र विकाससँगै बैंकिङ कारोबार अनलाइन माध्यमबाट बढ्दै गइरहेका बेला सम्भावित ठगी र साइबर अपराधका जोखिमबारे बच्न पिपल्स क्याम्पसले डिजिटल बैंकिङ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा न्युज २४ टिभीका आर्थिक पत्रकार चिरञ्जीवी भट्टराईले डिजिटल बैंकिङका विभिन्न माध्यम, अनलाइन भुक्तानी प्रणाली, मोबाइल बैंकिङ, क्यूआर कोड प्रयोग लगायतका विषयमा प्रस्तुति दिएका थिए। उनले असावधानीका कारण हुनसक्ने साइबर ठगी, फिसिङ, ओटीपी दुरुपयोग जस्ता जोखिमबारे जानकारी दिँदै सुरक्षित कारोबारका उपायहरूबारे प्रकाश पारे।

कार्यक्रमा बोल्दै क्याम्पस प्रमुख मनोज बहादुर कुवँरले डिजिटल बैंकिङ कारोबारको विस्तारसँगै ठगीका घटनाहरू पनि बढ्दै गएको उल्लेख गर्दै सजग र सावधानीपूर्वक कारोबार गर्न विद्यार्थी तथा सेवाग्राहीलाई आग्रह गरे। उनले यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई जोखिमबारे सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
शुक्रबार आयोजित कार्यक्रममा सहायक प्रिन्सिपल रोजेश पण्डितले पनि डिजिटल ठगीका घटना बढ्दै गएका सन्दर्भमा यस्ता कार्यक्रमको सान्दर्भिकता अझ बढेको बताए। उनले विद्यार्थीहरूलाई डिजिटल साक्षरता अभिवृद्धि गर्दै सुरक्षित बैंकिङ अभ्यास अपनाउन आग्रह गरे। कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो भने अन्त्यमा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो।







डिसी नेपाल







Facebook Comment