महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
झापा। झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन्। सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन्।
घिमिरेले आज जारी गरेको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र उठेका प्रश्नहरूको जवाफ दिइरहेको उल्लेख गरेका छन्। सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै उनले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे।
केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर सोही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको बताए। अहिले उक्त भिडियो अमुक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनको छ।
‘कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन। त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ,’ विज्ञप्तिमा घिमिरेले भनेका छन्। आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उनको भनाइ छ।
पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दुखद भएको घिमिरेले उल्लेख गरेका छन्।
घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै राजनीति आफ्नो लागि सेवा भएको जिकिर गरे। बिनाश्रमको एक रुपैयाँ पनि नलिएको र ओहोदा वा प्राप्तिका लागि राजनीति नगरेको उनको भनाइ छ।
तीन वर्षअघि प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै घिमिरेले झापा क्षेत्र नं. २ का मतदातालाई विगत तथा पछिल्लो तीन वर्षको आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गरेका छन्। आफूबाट कहीँ त्रुटि भेटिए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको उनले विज्ञप्तिमार्फत जनाएका छन्।







डिसी नेपाल







Facebook Comment