प्रतिनिधिसभा निर्वाचन–२०८२, चर्चामा बुद्ध जन्मस्थलको प्रवेशद्वार रुपन्देही–३
लुम्बिनी। बौद्धमार्गीहरूका लागि स्थलमार्ग हुँदै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्न भैरहवास्थित नेपाल–भारत सीमा बेलहिया मुख्य नाका मानिन्छ।
यस्तै हवाई मार्गबाट आउनेहरूको गन्तव्य पनि भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नै हो। यसैले रुपन्देहीको निर्वाचन क्षेत्र नं ३ प्रमुख व्यापारिक केन्द्र भैरहवा बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार हो।
यहाँबाट उम्मेदवार बनेका राजनीतिमा प्रभावशाली र शक्तिशाली उम्मेदवारका कारण प्रायः जहिले पनि यो निर्वाचन क्षेत्र चर्चामा रहने गरेको छ। २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी प्रक्रिया सुरु भएदेखि निर्वाचनको नतिजा आउँदासम्म चर्चामा रहेको निर्वाचनको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ।
उक्त निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार सरकारका गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण हुनुहुन्थ्यो भने नेकपा एमालेलगायतका दलको समर्थनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहरा बनेका थिए। सरकारका गृहमन्त्री जस्तो पदमा रहेका खाँणलाई ‘भ्वाइस रेष्ट’ मा रहनुभएका बोहराले ‘मौन’ बसेरै फराकिलो मतान्तरमा हराए।
निर्वाचनमा विजयीपश्चात् पनि सांसद बोहराको स्वास्थ्यमा खासै सुधार हुन सकेन। सांसद पदमा निर्वाचित भएको २ वर्षपछि गत वर्ष चैत १९ गते ७४ वर्षको उमेरमा उनको निधन भएपछि निर्वाचन आयोगले गत कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तय गरेर प्रक्रिया अघि बढाएको थियो तर जेनजी आन्दोलनपश्चात्को राजनीतिक परिवर्तनका कारण देशभरि नै संसदीय निर्वाचन हुने तय भएपछि उक्त निर्वाचनको मिति स्वतः खारेज भयो। २०७९ को निर्वाचनमा जस्तो राजनीतिक हस्ती उम्मेदवार नभए पनि यसपटक निर्वाचन क्षेत्रमा यसपटक राजनीतिकसँगै सामाजिक र व्यावसायिक रुपले परिचित उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा छन्।
यहाँ विभिन्न पेसामा संलग्न चिकित्सक, इन्जिनियर, अनुभवी राजनीतिज्ञसहित ३६ जना उम्मेदवार मैदानमा छन्। यसपालि चुनावी मैदानमा नेकपा (एमाले
) बाट तिलोत्तमा नगरपालिकाका पहिलो नगर प्रमुख, रुपन्देही क्षेत्र नं ५ बाट निर्वाचित निवर्तमान सांसद वासुदेव घिमिरे चुनावी मैदानमा छन्।
यस्तै, नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका युवा नेता सुशील गुरुङलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ। भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित भएर काम गर्नुभएको गुरुङ समाजसेवीका रूपमा चिनिन्छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भैरहवा क्षेत्रमै चिकित्सक पेसामा जमेका डा लेखजङ्ग थापा छन्। उनी न्यूरोलोजिष्ट विशेषज्ञ चिकित्सक हुन्। भैरहवाकै राप्रपाबाट स्व बोहराका छोरा गौरव बोहरा उम्मेदवार हुन्। बुद्ध एयरको वरिष्ठ क्याप्टेन बोहरा भैरहवा क्षेत्रकै स्थानीवासी हुन्।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फैजअहमद खाँले उम्मेदवार बनाएको छ। २०७४ सालमा उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट सिद्धार्थनगर नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेर पराजित भएका हुन्।
जनता समाजवादी पार्टी (जसपा), नेपालबाट श्रीनिवास यादवले उम्मेदवारी दिएका छन्। तर, उनले केही दिनअघि एमालेका उम्मेदवार घिमिरेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन्।
यसैगरी, जनमत पार्टीले जेनजी उमेर समूहका २९ वर्षीय विशाल गुप्तालाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, नेपाल मजदुर किसान पार्टीले सुग्रिम चाई, राष्ट्रिय जनमोर्चाले बद्रे आलम मुसलमान, प्रगतिशील लोकतान्त्रिक पार्टीले गोविन्दप्रसाद काराखेती, मङ्गोल नेसनल अर्गनाइजेसनले कुलवीर घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले राजु गौडेल, नेसनल रिपब्लिक नेपालले मोहन थापा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले शङ्करप्रसाद ज्ञवालीलाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिबअलि मुसलमान, उज्यालो नेपाल पार्टीबाट सरोजसिंह चौधरी, गान्धीवादी पार्टी नेपालबाट लालबहादुर राना, नागरिक उन्मुक्ति पार्टी, नेपालबाट नन्दकुमारी थापा र आमजनता पार्टीबाट राधेश्याम तेली गुप्ताले उम्मेदवारी दिएका छन्।
यस क्षेत्रमा स्वतन्त्रतर्फ अन्जना चौधरी थापा, करम हुसेन खान, ख्यामानन्द भुसाल, गोपाल भण्डारी, जीतबहादुर गुप्ता, जुमराती धुनिया मुसलमान, ठाकुर अधिकारी, तेजिन्द्र मल्ल, दीपकबहादुर दर्जी, दुर्गालाल शर्मा, धनबहादुर बस्नेत, नबाब मुसलमान, महेन्द्र यादव, मोहम्मदमुर्तजा साह, विष्णुबहादुर राना, सचिन राना र ज्ञानप्रसाद भुर्तेलले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल–भारत सीमा बेलहिया भन्सार नाका, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल रहेका कारण पनि यो निर्वाचन क्षेत्रमा निजी क्षेत्रको औद्योगिक तथा पर्यटकीय पूर्वाधारको क्षेत्रमा करोडौं लगानी रहेको छ।
यहाँबाट निर्वाचित जनप्रतिनिधिलाई राज्यको अरबौँ लगानीमा निर्माण भएर पनि पूर्णरुपले सञ्चालनमा आउन नसकेको अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन, निजी क्षेत्रको लगानीका औद्योगिक तथा पर्यटकीय पुर्वाधारको सुरक्षा, देशकै ठूलो भन्सार नाकाको व्यवस्थापनका लागि एकीकृत जाँच केन्द्रको सञ्चालन, विशेष आर्थिक क्षेत्र (सेज) को व्यवस्थित सञ्चालन, डण्डाखोला करिडोर निर्माण, नेपाल–भारत सीमा बेलहिया बजारको व्यवस्थापन, भैरहवादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्मको सडकको सुन्दरीकरणलगायतका योजनालाई अघि बढाउनुपर्ने चुनौती रहेको छ।
रुपन्देही क्षेत्र नं ३ को मतदातासमेत रहनुभएका सिद्धार्थ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्य गौतमबुद्धको जन्मस्थलको प्रवेशद्वार भैरहवामा निर्माण भएर पनि पूर्ण रुपले सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई सञ्चालनमा ल्याउन सशक्त भूमिका खेल्नसक्ने उम्मेदवारले यस क्षेत्रको प्रतिनिधित्व गर्नुपर्ने बताउँछन्। यससँगै लुम्बिनीको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन, औद्योगिक क्षेत्रको विकासलगायतका मुद्दालाई सम्बोधन गर्ने उम्मेदवार भैरहवा क्षेत्रका मतदाताको रोजाइमा पर्नसक्ने उनको भनाइ छ।
रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका वडा नं १ देखि ३, ६ र ७ वडा, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा तथा बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडा समेटिएका छन्। यस निर्वाचन क्षेत्रअन्तर्गत बुटवल वडा नं १९, मोतिपुरका मतदाता लीलाधर शर्मा विगतका तुलनामा विकासले फड्को मारेको अनुभव सुनाउनुहुन्छ। विगतमा कुनै कामले बुटवल जानुपर्दा पनि भैरहवा हुँदै जानुपर्ने बाध्यता अहिले जताततै सडक र तिनाउ दानव नदीमा बनेका पुलका कारण धेरै सहज भएको उनी बताउँछन्।
यस्तै सोही ठाउँका हेमलाल पौडेल चुनाव जसले जिते पनि जनताका समस्या सहजै सुनेर यसअघि जस्तै विकासका काम गर्ने व्यक्ति हुनुपर्ने बताउँछन्। उनले अहिले ग्रामीण क्षेत्रका मुख्य समस्या कृषकलाई मल, बिउ लयातका कृषि सामग्रीको समयमा उपलब्ध हुने, सिँचाइको व्यवस्थापन, सडकको स्तरोन्नति र किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका मुद्दालाई सम्बोधन जरुरी रहेको उनको भनाइ छ।
गत निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो भने एमालेले १६ हजार ९८६ र रास्वपाले १४ हजार १५४ मत प्राप्त गरेको थियो। प्रत्यक्षमा जितेको राप्रपाले समानुपातिकमा नौ हजार १८३ मत मात्रै पाएको थियो। विगतको समानुपातिक मतलाई नियाल्दा कांग्रेस र एमाले यस क्षेत्रमा बलिया पुराना दलहरू मानिन्छन् तर यसपटकको निर्वाचनमा कांग्रेस, एमालेसँग रास्वपा र राप्रपाको पनि उत्तिकै प्रतिस्प्रर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ। यस निर्वाचन क्षेत्रमा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई अन्य गरी एक लाख ४० हजार ३५ जना मतदाता छन्। यस क्षेत्रमा ४६ मतदानस्थल र १५७ वटा मतदान केन्द्र छन्। रासस















Facebook Comment