दोलखाको तामाकोशीमा एमाले र नेकपा त्यागेर थुप्रै कार्यकर्ता कांग्रेस
दोलखा। दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा आयोजित नेपाली कांग्रेसको चुनावी सभाका क्रममा नेकपा एमाले र नेकपा परित्याग गरी थुप्रै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेको गृहगाउँ जफेमा आयोजित उक्त विशेष सभामा विभिन्न पार्टीका प्रभावशाली स्थानीय नेताहरूले कांग्रेस रोजेका हुन्।
एमाले परित्याग गर्नेहरूमा सविन तामाङ, बामबहादुर महत, लालबहादुर विक र भिम गुरुङ लगायत रहेका छन्। त्यस्तै, नेकपाबाट रामचन्द्र गुरुङ, धनबहादुर कटुवाल र लालबहादुर गुरुङ तथा ‘जेन-जी’ युवा समूहबाट राजेश खड्का लगायतका युवाहरू कांग्रेसमा भित्रिएका छन्।
नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी, पूर्व अर्थमन्त्री कुन्दनराज काफ्ले र दोलखा कांग्रेसका सभापति वर्मा लामाले खादा तथा माला लगाएर स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अजयबाबु शिवाकोटीले आफू र कुन्दनराज काफ्ले बीचको सम्बन्धलाई लिएर फैलाइएका अफवाहहरूको खण्डन गरे। उनले भने,”चुनावका बेला अनेकौँ अफवाह फैलाइन्छन् तर कुन्दनजी र म दाजुभाइ सरह छौँ। राजनीतिमा सहकार्य पनि हुन्छ भन्ने नबुझेकाहरूले मात्र लडाइँको कुरा गर्छन्। हाम्रो आस्था, विचार र दृष्टि एउटै छ।”
शिवाकोटीले संविधानलाई सही बाटोमा ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताउँदै लोकतन्त्र र संविधान बचाउनका लागि नै आफूहरू चुनावमा होमिएको स्पष्ट पारे। उनले मतदातालाई पैसामा किन्न खोज्ने तत्वहरूबाट सावधान रहन आग्रह गर्दै २१ गतेको मतदानसम्म सक्रिय रहन कार्यकर्तालाई निर्देशन दिए।
बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले दोलखाको विकास र सुशासनका लागि अजयबाबु शिवाकोटीलाई मतदान गर्न आह्वान गरे। उनले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पारी परिवर्तनको अनुभूति गराउने प्रतिबद्धता जनाए।
यस्तै जिल्ला सभापति वर्मा लामाले दोलखा कांग्रेस अहिले पूर्ण रूपमा एकढिक्का भएको दाबी गर्दै परिवर्तनका लागि ‘रुख’ चिह्नमा मतदान गर्न आग्रह गरे।







डिसी नेपाल







Facebook Comment