कैलाली–५ का जनताको सेवामा अहोरात्र खटिने छु : प्रेमबहादुर आले
धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा कैलाली–५ का उम्मेदवार प्रेमबहादुर आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का जनताको सेवामा आफू अहोरात्र खटिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार धनगढी उपमहानगरपालिका–३ विशालनगरमा आयोजना गरिएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले विगतमा मन्त्रीको जिम्मेवारी सम्हाल्दा थुप्रै महत्वपूर्ण विकास आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको अनुभव सुनाउनु हुँदै विकास, सुशासन र जनताको समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।
उम्मेदवार आलेले आफू काम गरेर देखाउने नेता भएको दाबी गर्दै भने, “म अरूजस्तो झुटा आश्वासन बाँड्ने नेता होइन। म परिणाम देखाउने मान्छे हुँ। जनताको सेवा नै मेरो पहिलो प्राथमिकता हो।”
उनले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी तथा रोजगारीका क्षेत्रमा ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। उनले कैलाली–५ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।
विशेषगरी युवाहरूका लागि सीपमूलक तालिम, स्वरोजगारका अवसर तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने आफ्नो योजना रहेको उनको भनाइ छ।
‘अबको पाँच वर्ष कैलाली–५ को रूपान्तरणका वर्ष हुनेछन् । यहाँको विकासका लागि म कुनै कसर बाकी राख्ने छैन,’ उनले भने।
नेता आलेले अन्त्यमा लोकतन्त्र सुदृढ बनाउन र विकासलाई तीव्रता दिन मतदाताको साथ र समर्थन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा आफूलाई विजयी गराउन अपिल गरे।
उनले जनताको विश्वासलाई कहिल्यै टुट्न दिने छैन भन्दै आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए। स्थानीय बासिन्दाले विशालनगर क्षेत्रका विभिन्न समस्याबारे ध्यानाकर्षण गराएका थिए। सडक स्तरोन्नति, नाली, ढल निकास, स्वास्थ्य सेवा विस्तार तथा कृषकलाई सहुलियत कर्जा जस्ता माग राखेका थिए।
त्यसको जवाफमा नेता आलेले जनताका जायज मागलाई प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले काम अगाडि बढाइने आश्वासन दिए। घरदैलो कार्यक्रमका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आशीर्वाद तथा सुझाव लिएका थिए।
स्थानीयवासीहरूले पनि विकासमुखी नेतृत्वको आवश्यकता औंल्याउँदै आलेप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।







डिसी नेपाल







Facebook Comment