लघुकथा : नागरिक
कसैको चुनावी सभामा गएन रामकृष्ण।
आ-आफ्नो उम्मेदवारको चुनाव प्रचारप्रसारमा श्रीमती हिँडिन्, दाजु हिँड्यो, भाइ हिँड्यो; बहिनी हिँडी छोराछोरी पनि हिँडे तर रामकृष्ण हिँडेन।
छिमेकीले सोध्यो- “चुनावको बेला पनि तपाईं त निरपेक्ष जस्तै हुनुहुन्छ। कतै हिँडेको पनि देखिँदैन। मतदान पनि गर्नु हुन्न?”
रामकृष्णले भन्यो- “मतदान किन नगर्नु, गर्छु। निर्वाचन आफूलाई ‘यसले राम्रो गर्छ भन्ठानेको दल र उम्मेदवारका पक्षमा मत दिने उत्सव हो’। तर मतदान गर्न चुनावको प्रचार-प्रसारमा हिँड्नु पूर्वशर्त भने होइन।”
छोरीले गुनासो गरी-“बालाई त बाले भोट दिने पार्टी र उम्मेदवारले पनि नचिन्ने भो।”
रामकृष्णले भन्यो- “मैले पार्टी र उम्मेदवार चिन्ने हो । तिनले मलाई नचिने पनि हुन्छ।”
रामकृष्ण केही रोकिए। र, फेरि भने- “मैले भोट दिने पार्टी र उम्मेदवारले लोकतन्त्रको राम्रो अभ्यास स्थापित गरे मलाई पुग्छ । एक नागरिकको तहमा त्यो राम्रो अभ्यासको लाभ मसम्म पनि आई पुग्छ।”
रामकृष्णले हाँस्दै भन्यो- “त्यति भए पुग्दैन र!”















Facebook Comment