बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा : रोशी खोलाको अस्थायी कच्ची सडकले बढायो दुर्घटनाको जोखिम
रामेछाप । बीपी मार्ग अन्तर्गत पर्ने रोशी खोलाको खण्ड अहिले अत्यन्तै जोखिमपूर्ण बनेको छ। गत वर्ष र यस वर्षको वर्षायाममा आएको भीषण बाढीले रोशी खोलाको आसपासको सडक संरचना पूर्ण रूपमा क्षतविक्षत बनाएपछि हाल उक्त क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ।
तर स्थायी संरचना निर्माण नसकिँदासम्म अस्थायी कच्ची सडकबाट सवारी सञ्चालन गरिँदा यात्रुहरूले ठूलो जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
बाढीले सडक बगाएको तथा कटान गरेको क्षेत्रमा निर्माण व्यवसायीमार्फत सडक निर्माणको काम जारी रहेको छ।
निर्माण कार्य भइरहेका कारण सवारी साधनलाई खोलाको बगरमा बनाइएको अस्थायी मार्गबाट सञ्चालन गरिएको छ। बगरमा बनाइएको उक्त सडक कच्ची, साँघुरो र खाल्डाखुल्डी भएकाले यात्रा अत्यन्तै कष्टकर र जोखिमपूर्ण बनेको छ।
सडकमा ठूला–ठूला खाल्डाखुल्डी, धुलाम्मे वातावरण र एकतर्फी जस्तो साँघुरो बाटो हुँदा दुईतर्फी सवारी सञ्चालनमा कठिनाइ भइरहेको छ। कतिपय स्थानमा सवारी साधनहरू एक–अर्कालाई बाटो दिन लामो समय कुर्नुपर्ने अवस्था छ।
सामान्य अवस्थामा काठमाडौंबाट करिब तीनदेखि साँढे तीन घण्टामा पुगिने खुर्कोट पुग्न अहिले पाँचदेखि ६ घण्टासम्म लाग्ने गरेको छ।
लामो जाम, धुलो र अव्यवस्थित सडक अवस्थाका कारण बिरामी, बालबालिका र वृद्ध यात्रुहरू बढी प्रभावित भएका छन्। कतिपय सवारी साधन बिग्रिएर बीच बाटोमै रोकिँदा जोखिम अझ बढेको छ।
विशेषगरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंमा रहेका मतदाता जिल्ला फर्किने क्रम सुरु भएसँगै सवारी चाप ह्वात्तै बढेको छ। चुनाव नजिकिँदै जाँदा यात्रुहरूको संख्या बढेपछि साँघुरो अस्थायी सडकमा दुर्घटनाको सम्भावना पनि बढेको छ। रोशी खोलाको खण्ड अहिले बिपी मार्गकै सबैभन्दा संवेदनशील र जोखिमयुक्त क्षेत्र बनेको छ।
यात्रुहरूले सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था छ भने सम्बन्धित निकायले निर्माण कार्य तीव्र पार्दै अस्थायी सडकलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक पहल गर्नुपर्ने मागसमेत उठेको छ।







डिसी नेपाल







Facebook Comment