सुनकोशी तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन ‘कोशीपारी’का मतदाताको आग्रह

डिसी नेपाल
१७ फागुन २०८२ २१:३६

काभ्रेपलाञ्चोक। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको कोशीपूर्वका बासिन्दाले बहुप्रतिक्षीत सुनकोशी–तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन आग्रह गरेका छन्। स्थानीयले निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलोमा आउने उम्मेदवारहरूसँग यथाशक्य छिटो सो जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह गरेका हुन्।

यसैगरी भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति, पारदर्शी र जवाफदेही कामकाज, नातावाद–कृपावादको अन्त्य, गुणस्तरीय एवम् सर्वशुलभ शिक्षा र स्वास्थ्य सुविधा, रोजगारी सिर्जना, आधुनिक कृषि प्रणालीसहित बजारको सुविधालगायतका विषयमा प्रतिबद्धता सार्वजनिक गर्न उम्मेदवारसँग माग गरेका छन्। प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले ‘समृद्ध कोशीपारी’ निर्माणका पक्षमा मतदान गरी जिताउन आग्रह गर्दै स्थानीय जनताको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट काभ्रेपलाञ्चोक क्षेत्र नं १ का उम्मेदवार अमित लामाले कोशीपूर्वस्थितका गाउँवस्तीमा पुग्दा सुनकोशी–तेस्रो जलविद्युत् आयोजनालाई तीव्रता दिन अनुरोध गरेको जानकारी दिए।

स्थानीयको मागबमोजिम सो आयोजनालाई तीव्रता दिन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरी मतदातालाई आश्वस्त तुल्याउन प्रयास गरेको उनले स्पष्ट गरे। घरदैलो प्रचारप्रसारका क्रममा चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुगेका उम्मेदवार लामाले विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषिमा आधुनिकीकरणजस्ता विषयमा छलफल गरिरहेको बताए।

यसैगरी धार्मिक पर्यटन विस्तारका लागि पाथिभरा मन्दिर, चौँरीदेउराली मन्दिर, खाँडादेवी मन्दिर र नाग्रेगगर्चेलाई जिल्लाको विकासको केन्द्रका रुपमा अघि बढाइने मार्गचित्र घरदैलोमार्फत मतदातालाई जानकारी गराइएको छ।

घरदैलो अभियानका क्रममा लामाले विगतमा यस क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन नसकेकाले आफू निर्वाचित भए यस भेगमा आधारभूत विकास निर्माणको बलियो जग बसाल्ने दावी गर्दै आएका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गुणराज मोक्तानले बदलिँदो राजनीतिक परिवेशलाई समेत आत्मसात् गरी कोशीपारी क्षेत्रको विकासका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गर्दै भौगोलिक रुपमा दुर्गम कोशीपारी क्षेत्रका जनताको चाहनाबमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कृषि, पूर्वाधार निर्माण, राजनीतिक स्थिरता, सवल कूटनीति, दीगो आर्थिक विकास, सबै पेशा, वर्ग, क्षेत्रका लागि मुलुकमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले धारणा व्यक्त गरे।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार दिननाथ गौतमले उम्मेदवारी सदैव उपेक्षित क्षेत्रका रुपमा परिचित यस क्षेत्रका जनताको गास, बास, कपास, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको घोषणा र स्थानीय जनताको मागबमोजिम स्थानीय जनताकाम पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा आफ्नो पार्टीको अतुलनीय योगदान रहेको चर्चा गर्दै एक पटक नेकपालाई मौका दिन अनुरोध गरे।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाईंले पुराना राजनीतिक दलहरूका कारण मुलुक यसकिसिमको अवस्थामा पुगेको धारणा व्यक्त गर्दै अब एक पटक नयाँलाई अवसर दिन मतदातासँग अनुरोध गरे।

काभ्रेको निर्वाचन क्षेन नंं १ मा १५ दल र तीन स्वतन्त्र गरी १८ उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। यस निर्वाचन क्षेत्रमा विशेषगरी कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार एक सय मतदाता कायम छन्। काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.