गणतन्त्रमा गगन: लोकतन्त्रको अग्निपरीक्षा

जितेन्द्र जिसी
१८ फागुन २०८२ १५:०२
8
Shares

आजबाट निर्वाचनको मौन अवधि सुरु। सडकका नारा, स्पिकरका चर्का आवाज र भिडको कोलाहल शान्त …। तर, यो बाहिरी सन्नाटाभित्र आम नेपाली नागरिकको मस्तिष्कमा एउटा ठूलो आँधी चलिरहेको छ।

यो आँधी केवल एउटा भोट कसलाई दिने भन्ने सामान्य छनोटको होइन, यो त आगामी दशकौंसम्म हाम्रो देशको भाग्य कुन बाटोमा हिँड्नेछ भन्ने युगान्तकारी फैसलाको हुरी हो।

आजको यो शान्त समयमा हामीले आफूलाई र आफ्नो अन्तरात्मालाई एउटा गम्भीर प्रश्न सोध्नैपर्छ-असी वर्ष लामो संघर्ष र हजारौंको बलिदानबाट प्राप्त हाम्रो गणतन्त्र र लोकतन्त्र आज कुन अग्निपरीक्षामा उभिएको छ? र, यो सङ्कटपूर्ण घडीमा देशलाई खरानी हुनबाट जोगाएर समृद्धिको शिखरमा पुर्‍याउने त्यो भरपर्दो सारथि को हो?

जब हामी यी प्रश्नहरूको गहिराइमा पुग्छौं, तब नेपालको वर्तमान राजनीतिक क्षितिजमा एउटा नाम, एउटा विचार र एउटा दृढ सङ्कल्प घामजस्तै छर्लङ्ग भएर उदाउँछ-त्यो नाम हो, गगन थापा।

यो आलेख केवल एक व्यक्तिको प्रशंसा होइन, यो हिजोको हाम्रो संघर्ष, आजको हाम्रो यथार्थ र भोलिको हाम्रो सुन्दर भविष्यबीचको एउटा बौद्धिक र तार्किक शल्यक्रिया हो। यो गणतन्त्रमा गगन नै किन निर्विकल्प हुन् भन्ने कुराको धरातलीय विश्लेषण हो।

हिजोको संघर्ष र आजको यथार्थ: रूपान्तरणको विगुल

कुनै पनि देशको वर्तमान बुझ्न त्यसको विगतको तस्बिरलाई इमानदारीपूर्वक हेर्नुपर्छ। हिजोको तस्बिर कस्तो थियो? निरङ्कुशताको अँध्यारो सुरुङमा थुनिएको देशलाई उज्यालोमा ल्याउन नेपाली कांग्रेसले असी वर्ष लामो ऐतिहासिक संघर्ष गर्‍यो।

बीपी कोइरालाको विचारदेखि हजारौं सहिदको रगतले सिञ्चित यो पार्टीले देशमा लोकतन्त्र र गणतन्त्रको जग बसाल्यो। तर, समय बित्दै जाँदा, सत्ताको अभ्यासमा कहीँ न कहीँ खिया लाग्न थाल्यो।

व्यवस्था बदलियो, तर आम नागरिकको अवस्था सोचेजस्तो बदलिएन। सुशासनको अभाव, पुस्तान्तरणको जाम र नेतृत्वको ढिलासुस्तीले गर्दा नागरिकमा चरम निराशा पैदा भयो।

यही निराशाको फाइदा उठाउँदै समाजमा एउटा यस्तो पपुलिस्ट (सस्तो लोकप्रियतावादी) भिडको उदय भयो, जसले ‘सबै नेता चोर हुन्, सबैलाई जेल हाल्नुपर्छ, रुखमा बाँध्नुपर्छ’ भन्ने जङ्गली र अराजक भाष्य स्थापित गर्न खोज्यो।

अदालतका मिसिलहरू जलाउने, राज्यका निकायहरूमाथि आक्रमण गर्ने र भिडलाई उकासेर न्यायको घाँटी निमोठ्ने प्रयासहरू भए। यो लोकतन्त्रमाथिको सबैभन्दा ठूलो अग्निपरीक्षा थियो।

तर, यही संकटको बीचमा नेपाली कांग्रेसभित्रैबाट एउटा शक्तिशाली विद्रोहको जन्म भयो। त्यो विद्रोह सडकमा ढुङ्गा हान्ने थिएन, त्यो वैचारिक र साङ्गठनिक विद्रोह थियो। गगन थापाले छाती ठोकेर भने- “नेपाली कांग्रेस दास र लासहरूको पार्टी होइन।”

उनले विगतका असफलताहरूको भारी बोकेर होइन, निर्मम आत्मसमीक्षा गर्दै पार्टीको नीति र नेतृत्व नै बदल्ने ऐतिहासिक हस्तक्षेप गरे। हिजोका कमजोरीहरूलाई लुकाएर होइन, स्विकारेरै अघि बढ्ने यो साहसले ‘बदलिएको कांग्रेस’ को नयाँ अध्याय सुरु गर्‍यो। आजको यथार्थ यही हो कि, गगन थापाले नेपाली राजनीतिलाई भिडतन्त्रको ‘रियाक्सन’ बाट निकालेर विधिको ‘एक्सन’ मा रूपान्तरण गरिदिएका छन्।

नेपालभित्रको नेपाल र नेपालबाहिरको नेपाल: जोड्ने एउटै भरोसा

आजको नेपालको सबैभन्दा दर्दनाक यथार्थ भनेको हाम्रो जनसाङ्ख्यिक विभाजन हो। आज दुईवटा नेपाल छन्- एउटा भौगोलिक सिमानाभित्रको नेपाल, र अर्को मध्यपूर्वको रापिलो घामदेखि युरोप-अमेरिकाको सिरेटोसम्म छरिएको ‘नेपालबाहिरको नेपाल’।

खाडीको ५० डिग्री तापक्रममा पसिना बगाइरहेका युवाको निद्रा त्यतिबेला उड्छ, जब उसले देशमा हुर्कंदै गरेको अराजकता र आर्थिक मन्दीको समाचार सुन्छ।

सात समुन्द्रपारि हिउँमा कठ्याङ्ग्रिँदै काम गरिरहेकी चेलीको आँखा त्यतिबेला रसाउँछ, जब उसले आफ्नो सानो बच्चालाई भिडियो कलमा मात्र हुर्किरहेको देख्छे। नेपालबाहिरको नेपालले पठाएको रेमिट्यान्सले नेपालभित्रको नेपालको अर्थतन्त्र त धानेको छ, तर त्यसले हाम्रो समाजको पारिवारिक संरचना र गाउँका गाउँ रित्तो बनाएको छ।

यी दुई नेपाललाई कसले जोड्ने? सस्तो नारा लगाएर, भिड जम्मा गरेर वा जादुको छडी घुमाउँछु भनेर यो खाडल पुरिँदैन। यो जोड्ने बौद्धिक र व्यावहारिक खाका गगन थापासँग छ।

उनले परदेशमा रहेका युवाको पीडालाई केवल भोट माग्ने भाँडो बनाएनन्, त्यसलाई राष्ट्रिय नीतिको केन्द्रमा राखे। उनले अघि सारेको “विदेशमा काम, स्वदेशमा उद्यम” को नीति त्यही नेपालबाहिरको नेपाललाई स-सम्मान स्वदेश फर्काउने गुरुयोजना हो।

विशेषगरी मध्यपूर्वमा अहिले बढ्दो तनाव र युद्धको त्रासले प्रवासी नेपाली र उनीहरूका परिवारमा जुन गहिरो मनोवैज्ञानिक सन्त्रास छाएको छ, त्यसलाई सम्बोधन गर्न गगन जस्तो ओजपूर्ण र अन्तर्राष्ट्रिय मञ्चमा देशको कूटनीतिक अडान राख्न सक्ने ‘स्टेट्सम्यान’ (Statesman) को आवश्यकता छ।

गगनले स्पष्ट सन्देश दिएका छन्- “तपाईंको सुरक्षा र घरफिर्तीको लडाइँको मोर्चा अब राज्यले सम्हाल्छ।” यो भरोसाले नेपालभित्रका आमाबुवा र नेपालबाहिरका सन्तानलाई एउटै आशाको धागोमा बाँध्ने काम गरेको छ।

गणतन्त्रमा गगन नै किन? स्वदेशी र विदेशी दृष्टान्तहरूको कसीमा

चुनावको बेला धेरै अनुहारहरू अगाडि आउँछन्। कतिपय अनुहारहरूले नयाँ र ‘कट्टर’ कुरा गरेर ध्यान तान्न खोज्छन्। तर, हामीले अन्तर्राष्ट्रिय राजनीतिबाट केही गम्भीर पाठहरू सिक्नैपर्छ।

जब भेनेजुएला वा अर्जेन्टिना जस्ता देशका नागरिकले परम्परागत दलहरूको ढिलासुस्तीसँग दिक्क भएर सस्तो पपुलिस्ट नेताहरूलाई रातारात सत्ता सुम्पे, तब ती देशको अर्थतन्त्र र लोकतन्त्र कसरी पत्तासाफ भयो भन्ने इतिहास हाम्रो सामु छ।

फिलिपिन्समा ‘सबै अपराधीलाई सडकमै मार्छु’ भन्ने नेतालाई जिताउँदा कसरी कानुनी राज्यको अन्त्य भयो र देश झन् ठूलो दलदलमा फस्यो भन्ने हामीले देखेका छौं। नेपालमै पनि, बाटो नबन्दा ठेकेदारलाई ‘रुखमा बाँध्छु’ वा ‘खोरमा जाक्छु’ भन्ने जङ्गली र अलोकतान्त्रिक अभिव्यक्ति दिने महत्त्वाकांक्षी नेतृत्वको उदयले हामी कस्तो भयानक दुर्घटनातर्फ जाँदैछौं भन्ने संकेत गरिसकेको छ।

यहीँनेर गगन थापाको उचाइ र आवश्यकता प्रमाणित हुन्छ। गगनले भिडलाई उकास्ने काम गरेनन्, बरु उनले समस्याको जरो पत्ता लगाए। उनले स्पष्ट रूपमा भनेका छन् कि देशको विकास नहुनुमा कुनै एउटा ठेकेदार मात्र दोषी छैन, हाम्रो ‘सिस्टम’ र हाम्रा झन्झटिला कानुनहरू दोषी छन्।

त्यसैले उनले भौतिक पूर्वाधार र निर्माणलाई गति दिन ४१ वटा कानुनहरू एकमुष्ट संशोधन गर्ने र खारेज गर्ने वैज्ञानिक र व्यावहारिक मार्गचित्र प्रस्तुत गरेका छन्।

२०४६ सालपछिका सबै उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्ने सङ्कल्प गर्दै उनले ‘आफ्नै पूर्वसभापति र आफू मन्त्री हुँदाको समयलाई समेत कठघरामा उभ्याउन तयार छु’ भनेर जुन साहस देखाए, त्यो विश्व राजनीतिमै दुर्लभ मानिन्छ।

‘भ्रष्टाचारको अन्त्यः कांग्रेसको गन्तव्य’ भन्ने नारालाई उनले केवल कागजमा सीमित राखेनन्, आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो दाउमा राखेर त्यसलाई प्रमाणित गर्ने अठोट गरेका छन्।

त्यसैले, गणतन्त्रमा गगनको आवश्यकता यसकारण छ कि उनीसँग लोकतन्त्रको सीमाभित्र रहेरै ‘सिस्टम’ भत्काउने र नयाँ ‘सिस्टम’ बनाउने ब्लुप्रिन्ट छ। उनी ‘वान म्यान आर्मी’ को अहंकार बोक्दैनन्, बरु क्षमतावान् नागरिकलाई समेटेर ‘टिम नेपाल’ बनाउने फराकिलो सोच राख्छन्।

भोलिको सुन्दर तस्बिर: समावेशी, सुरक्षित र डिजिटल नेपाल

गगन थापाले कोरेको भोलिको तस्बिर कस्तो छ? त्यो तस्बिर केवल सिमेन्ट र डन्डीका अग्ला भ्युटावरहरूको तस्बिर होइन। त्यो तस्बिर आम नागरिकको जीवनस्तर उठ्ने तस्बिर हो।

उनले ‘सामाजिक सुरक्षा: कोखदेखि शोकसम्म’ को जुन अवधारणा ल्याएका छन्, त्यसले राज्यलाई एउटा साँचो अभिभावकको रूपमा स्थापित गर्छ। अस्पतालको बिल तिर्न नसकेर कसैले मृत्यु कुर्नु नपरोस्, ‘स्वास्थ्यमा समान प्रबन्ध’ होस् र राज्यको ढुकुटीमा हुने राजनीतिक लुटतन्त्र बन्द होस् भन्ने उनको ‘नाता न नेता’ को नीति भोलिको नेपालको मुटु हो।

भोलिको नेपाल एउटा ‘समावेशी, सुरक्षित र डिजिटल नेपाल’ हुनेछ। जहाँ सरकारी कार्यालयमा लाइन बस्नुपर्ने, फाइलहरू हराउने र बिचौलियाले राज गर्ने परम्पराको अन्त्य गर्दै शासनलाई प्रविधिमैत्री र पारदर्शी बनाइनेछ। यो देश अब कसैको व्यक्तिगत सनक, लहड वा हुकुमी शासनले चल्ने छैन। यो देश ‘नीति, थिति, विधि र समृद्धि’ को बलियो जगमा उभिनेछ।

गगन थापाले नेपाली राजनीतिलाई एउटा यस्तो उचाइ दिएका छन्, जहाँ अब पुराना र असफल नीतिहरू बोकेका नेतृत्वले जनताको अगाडि उभिने नैतिक धरातल गुमाइसकेका छन्। आफ्नै पार्टीभित्रका अहङ्कारी नेताको तस्बिरलाई पोस्टरबाट हटाएर चुनाव लड्न बाध्य भएका अन्य दलका उम्मेदवारहरूको दयनीय अवस्थाले यो कुरा प्रमाणित गर्छ कि ‘दासहरूको ताली’ ले मात्र सत्यलाई सधैं छोप्न सकिँदैन।

निष्कर्ष: अन्यत्र मन डुलाउनै नहुने समय

चार्ल्स डिकेन्सले भनेझैं, यो समय हाम्रो लागि ‘मूर्खताको युग’ मा फस्ने कि ‘बुद्धिको युग’ तर्फ लम्किने भन्ने छनोटको समय हो। मौन अवधिको यो शान्त प्रहरमा हामीले आफ्नो विवेकलाई स्वतन्त्र छोड्नुपर्छ। सस्तो ताली, सामाजिक सञ्जालका ‘स्टन्ट’, र कानुन हातमा लिएर भिडतन्त्र मच्चाउनेहरूबाट यो देशको गणतन्त्र सुरक्षित छैन।

यस्तो सङ्कटको बेला, हामीसँग गगन थापा जस्तो बौद्धिक, सिर्जनशील, धरातलीय यथार्थ बुझेको र व्यवस्थाभित्रैबाट अवस्था बदल्ने ‘हिम्मत’ भएको राजनेता हुनु हाम्रो पुस्ताको लागि एउटा ठूलो अवसर हो। उनले देखाएको बाटो, उनले कोरेको नीति र उनले लिएको ‘बदलिएको कांग्रेस’ को सङ्कल्प नै आजको दिनमा देशलाई सही ‘ट्र्याक’ मा ल्याउने एक मात्र निर्विकल्प अस्त्र हो।

त्यसैले, आज नेपाली मतदाताले दायाँबायाँ हेर्नुपर्ने वा अन्यत्र मन डुलाउनुपर्ने कुनै कारण छैन। नेपालभित्रको नेपाललाई सुदृढ गर्न र नेपालबाहिरको नेपाललाई स-सम्मान घर फर्काउन आज एउटै नाम काफी छ- गगन।

लोकतन्त्रको यो अग्निपरीक्षामा देशलाई जिताउन, विधिको शासनलाई जोगाउन र भोलिको समुन्नत नेपाल निर्माण गर्न मतदान केन्द्रमा जाँदा हाम्रो विवेकले केवल एउटा सही निर्णय गरोस्। किनभने, हाम्रो आजको एउटा सही निर्णयले हाम्रा भावी पुस्ताको सिंगाे जीवन र देशको भाग्य बदल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.