‘इन्द्रेणी सौन्दर्य’ ५७ निबन्धको संग्रह प्रकाशित
काठमाडाैं। भर्खरै प्रकाशित ‘इन्द्रेणी सौन्दर्य’ ५७ वटा निबन्धहरूको संग्रह हो। निबन्धकार ज्ञानेन्द्र विवशको नवीनतम् यो कृति सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो।
५५० रुपियाँ मूल्य रहेको कृतिमा जीवनका विविध पाटाहरू जस्तै प्रकृति, यात्रा, अध्यात्म, जन्म-मरण, सुख दुःख आदि पक्षमा निबन्धकारको अनुभूति अभिव्यक्त छ।
यस सङ्ग्रहमा संकलित निबन्धहरूलाई मोटामोटी सात भागमा विभाजन गर्न सकिने जानकारी वरिष्ठ निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलले गरेका छन्– (१) यात्रा केन्द्रित, (२) दृश्य-दृष्टि केन्द्रित, (३) अनुभूति केन्द्रित, (४) स्मृति केन्द्रित, (५) फुर्सद केन्द्रित, ६) सौन्दर्य केन्द्रित र (७) अन्य-विविध। तर सबै निबन्धहरूको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएकाले संग्रहको शीर्षक पनि ‘इन्द्रेणी सौन्दर्य’ जुराएको हो जस्तो लाग्छ।
‘इन्द्रेणी सौन्दर्य’ भित्रका ५७ वटै निबन्धहरू खुसीको उत्सव हो, सम्झनाको उत्सव हो। र, आशाको बिहानी हो। यद्यपि यहाँ ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन छ’ र ‘यौटा यस्तो कालो दिन’ पनि छ। रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थिति जस्तै अनुभूतिका यस्तै भाव–विम्बहरू निबन्धकार विवहका निबन्धहरूमा अभिव्यक्त भएका छन्।
‘इन्द्रेणी सौन्दर्य’ निबन्ध संग्रहबारे निबन्धकार विवश भन्छन्-‘इन्द्रेणी सौन्दर्य’ मेरो अनुभूतिको अभिलेखन हो-मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द–रूप! यस निबन्ध सङ्ग्रहमा सङ्गृहीत मैले देखेका, हेरेका, पढेका र भोगेका विविध अनुभूतिहरूलाई निबन्धको स्वरूपमा अभिव्यक्त गर्ने प्रयास गरेको छु। यी लेखहरू मेरा निजी विचार हुन्; यी मनका तरङ्गहरू हुन्, समयका छापहरू हुन् र जीवनसँग भएको निरन्तर संवादका प्रतिध्वनिहरू ‘इन्द्रेणी सौन्दर्य’ का रूपमा अवतरित भएका हुन्।
यी निबन्धहरूले जीवनको सम्पूर्णता स्वीकार गर्छन्– जसरी छ, त्यसरी नै! मेरो लेखक मन पाठकसँगै हिँड्ने, सँगै बस्ने, सँगै जिन्दगीको कुरा गर्ने शैली छ। ‘हतार विनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको भागदौडको जीवनमा एकछिन रोकिन सिकाउँछन्। आफैँतिर फर्किन र एकछिन टक्क रोकिन लगाउँछन्।
निबन्धकार विवशका यसअघि ६ वटा निबन्ध, ३ वटा नियात्रा र ५ वटा जीवनीका कृतिहरू प्रकाशित छन्। विभिन्न साहित्यिक तथा कला पुरस्कारबाट सम्मानित तथा पुरस्कृत ज्ञानेन्द्र विवशको विश्वको विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर यात्रामा आधारित ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ शीर्षकको नियात्रा संग्रह सीघ्र प्रकाशोन्मुख रहेको छ।







डिसी नेपाल







Facebook Comment