दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

डिसी नेपाल
१८ फागुन २०८२ २१:५०
164
Shares

गोरखा। घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्षको दशैँमा घर आएका थिए।

गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नुभएका श्रेष्ठले काठमाडौंबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए। देशमै रोजगारी नपाएपछि विदेशिनुभएका उहाँले आगामी दशैँमा भने घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए। श्रेष्ठ दम्पतीको पनि बुहारी भित्र्याउने सपना थियो। तर त्यो सपना सदाका लागि अधुरो मात्रै भएन छोरानै गुमाएपछि अहिले निशब्द छन् उनीहरु।

अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडियो कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउँलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन। तर आइतबार संयुक्त अरब इमिरेट्समा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो।

मृतक दिवसका काका प्रदीप श्रेष्ठका अनुसार दिवस मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा दुबई पुग्नुभएको थियो। “अस्तिको दिन बेलुकीमात्र घरपरिवारसँग भिडियोमा कुराकानी भएको रहेछ। त्यहाँको अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेर बुबालाई भनेको थियो रे”, काका प्रदीपले भने, “त्यसपछि फोन सम्पर्क नभएको रहेछ। उसका साथीभाइसँग बुझ्दा भागदौड भएर मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्ने खबर पाएका रहेछन्।”

युएईस्थित नेपाली दूतावासबाट आज मात्रै छोराको मृत्यु भएको खबर औपचारिक रुपमा उनीहरुले प्राप्त गरे। दिवसको मृत्युको खबरले अहिले ठाँटी गाउँ शोकमा डुबेको छ। प्रदीप भन्छन्, “गाउँको युवा, सबैसँग मिल्ने, अत्यन्त इमान्दार, मिजासिलो थियो। उसको आमाबुबाको कोखै रित्तियो।”

हाल गाउँमा बुबा चामबहादुर र दिवसका हजुरआमा हुनुहुन्छ। आमा पवित्रा भने छोरी भेट्न काठमाडौँ जानुभएको बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो। “घरमा बेहाल छ। आमा र दिदी पनि यतै आउने कि बाबुको शव लिएर आउने भन्ने सल्लाह हुँदैछ। उताबाट शव कहिले आउँछ त्यसको पनि ठेगान छैन”, उनले भने।

अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरिसकेको छ। उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.