पर्सामा निर्वाचन र होलीका लागि ‘हाइ-अलर्ट’: ७२ घण्टा सीमा नाका ठप्प

डिसी नेपाल
१९ फागुन २०८२ १४:४५
4
Shares

वीरगञ्ज। पर्सा प्रशासनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा उच्च कडाइ गरेको छ।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आज (सोमबार) मध्यरातदेखि ७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग जोडिएका भारतको विहार राज्यका पूर्वी र पश्चिम चम्पारणका सबै अन्तर्राष्ट्रिय नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि बन्द रहनेछन्।

निर्वाचन सुरक्षाका लागि दुवै मुलुकको आपसी सहमतिमा सीमा ’सिल’ गर्ने परम्पराअनुसार यो कदम चालिएको हो।

प्रशासनले फागुन १९ गते तराई-मधेसमा मनाइने होली पर्वका लागि पनि विशेष आचारसंहिता जारी गरेको छ। यसपटकको होलीमा कुनैपनि राजनीतिक दल वा उम्मेदवारको झन्डा, चुनाव चिह्न अंकित टि-सर्ट वा कपडा लगाएर रङ खेल्न पाइने छैन। यदि कसैले राजनीतिक प्रचारको रूपमा होलीलाई प्रयोग गरेमा कडा कारबाही गरिने प्रशासनको चेतावनी छ ।

होलीको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न प्रशासनले फागुन २० गते जिल्लाभर मोटरसाइकल चलाउन निषेध गरेको छ।

यस्तै, फागुन १९ गतेदेखि निर्वाचनको परिणाम घोषणा नभएसम्म कुनै पनि सभा, जुलुस वा सामाजिक कार्यक्रममा डिजेजस्ता ठूला आवाज निकाल्ने बाजा बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

सहायक प्रजिअ पोखरेलले मदिरा सेवन गरी सामाजिक सद्भाव बिगार्ने, जबर्जस्ती रङ दल्ने वा सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिइने स्पष्ट पारेका छन् । प्रशासनले सबैलाई निर्वाचनमैत्री र शान्तिपूर्ण वातावरणमा होली मनाउन र निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.