नेपालगञ्जमा चुनावी तयारी तीव्र
बाँके। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुरमा तयारी तीव्र पारिएको छ। उक्त क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
मतदान अधिकृत प्रशान्त पोख्रेलका अनुसार वडा नं. १२ अन्तर्गत पाँच मतदान केन्द्र तोकिएका छन्। हिजोदेखि नै मतपत्रलगायत आवश्यक निर्वाचन सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेका छन्।
प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले करिब ४० देखि ५० जना कर्मचारी खटाइएको उनले जानकारी दिए। सोही अनुपातमा सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ। पक्की संरचना (पिच तथा ढलान) भएको स्थानमा भुइँ खन्न नमिल्ने भएकाले बालुवा भरिएका बोरामा बाँस गाडेर अस्थायी मतदान बुथ निर्माण भइरहेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन आज बिहान सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
हालसम्मको सुरक्षा अवस्था सामान्य र शान्तिपूर्ण रहेको तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय भइरहेको मतदान अधिकृत पोख्रेलले बताए।
उनले वडा नं. १२ का मतदातालाई यही २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरेका छन्।







डिसी नेपाल







Facebook Comment