कविता : बिदेशतिर बरालिँदा

शंकरप्रसाद रिजाल
२३ फागुन २०८२ ८:०४
80
Shares

स्वदेश भनी बस्नेहरु बिदेसमा गइ हेर
सबै अचम्म देख्नेछौ सबै कुरा बुझी हेर
बिकास कति भएकारेछन् अतिनै जहाँतहाँ
आफैंलाई बिर्सिएकाछन् म जाऊँ खोजी कहाँ

बाटो घाटो फराकिलो लामोलामो छ देखिने
रेलगाडी बसहरु गुड्दा झन्डै मन हुन्छ हल्लिने
घुम्दा फूलका बगैंचाहरु आँखा दुवै तिरमिराउने
अगला अग्ला भवनहरु हेर्दा टोपीनै तल खसने

समुद्रका पानी हुत्तिएर अगाडि अगाडि आउने
कति ठूला ठूला माछा बीच बीचमा फुत्त देखिने
पानीका सब झरना ठूला महासागरमा मिलने
कस्तो अचम्मको दृश्य यो सानो मन झस्किने

पुराना दरबार ठूला जति घुमेनि नसिद्धिने
कसरी ती बनेका होलान् हरेक साल सम्झाउने
ठूला मानिसका शालिक उभ्भिएका छन अगाडि
सबैले एक एक इतिहास बोकेका छन् पछाडि

कला संस्कृतिमा अब्बल कलाकारिता यहाँ सबै
सजिएका छन् आफ्नै शैलीमा यहाँ देखिने खुबै
मिहेनत मानिसको हेर हरेक बिषय र विधामा
निर्माण भएकाछन् सब सूचना जति नक्सामा

सफा सेता लुगा राम्रा लाएका छन् सहर गाउँमा
हातमा कफी मोबाइल ली कुदेका छन् सडकमा
फुर्सद कसैको देखिन्न काममा लागेका छन् सब
सबै यसो हेर्दा मिसिन जस्तो खटिन्छन् गजब

आज संसारमा देखिन्छन् सबै पश्चिमा मुलुकहरु
हाँसेका छन् जनता टन्न रेस्टुरांमा मानिसहरु
बिदाका दिनमा हेर हाँसी खेली सब बस्तछन्
हरेक सडक छेउका होटेलहरु मान्छेले भर्दछन्

खाने लाउने दुवै राम्रो आम्दानी गरछन् निकै
यसो हेर्दा सबै राता र पीरा देखिँदैन कुनै भोक
ठूला विश्वबिद्यालयहरु छन् आँखाले नभ्याउने
कुन बेला ती बनेका होलान् सम्झनाले तर्सिने

ठूला पुल कसरी बने होलान् सागरमाथि झुन्डिने
जताततै सफा र सुग्घर फोहर कतै नै नभेटिने
ओहो एक चोटी गई त हेर देश कसरी बनाउने
सबै बुझी मनमा लेउ देशलाई कसरी सिंगारने

बिदेस तिर बरालिंदा यस्तै सबै छ जताततै
त्यसैकारणले त हाम्रा भाइहरु जान्छन् हतासिँदै
त्यसैकारणले त हाम्रा भाइहरु जान्छन् हतासिँदै

बिदेशको सफा र सुग्घर

राम्रो चट्ट सफा सुग्घर जताततै छ देखिने
सफा हेर्न र देख्न सबै बिदेश नै जानु पर्ने
अग्ला भवनका तल्ला कहाँ त्यो गन्ने
यसो गनी हेरुँ भन्दा रिंगटा भन्न आउने

अग्ला बतासे घरमा लिफ्टबाट माथि पुग्दा
एकै छिनमा पुगिन्छ माथि त्यो हुँदैन हिँड्दा
भ¥याङग छैन घरमा सबै लिफ्टबाट ओहरदोहर
को ठूला कोसाना देखिन्छन् सबै आफनै सहोदर

बिकासको मूल नै फुटेको छ जतात्ततै हराभरा
चौतर्फी देशका मानिस हिँडेका छन् यताउता
अंग्रेजी अंग्रेजको भाषा सबैतिर बोली बोलने
झट्ट सुन्दा कसैले नै फर्काउन नै नसकिने।

बोलनेको पिठो बिक्ने नबोल्नेको कठैबरा
नजान्नेले के गरी बस्लान बिचराहरुका छोरा
बोल्नेले त सुनेरै बुझ्छन् जे भनेपनि त्यो कुरा
नजान्ने ट्वाँ परि बस्छन् सुनी नबुझेका कुरा

हेरेर बसने होकी देखे सुनेका सबै कुरा
आफ्नो बोली फुट्दैन सुनी बिदेशीका कुरा
ओहो आहा उहु गर्ने राम्रो नराम्रो सबैकुरा
त्योभन्दा बोली नफुटे छैन अरु उपायको कुरा

सडकका बीचमा रेलगाडी कुदेकाछन् जताततै
आँखा घुमाई घुमाई हेर्दा मन उड्छ हतासिँदै
हेर सफा र सुग्घरको देश बिकासका मुलुकहरु
उनका देश भित्रका बिभिन्न थरिका झलकहरु

गरे हुन्न के कुरा सबै कुरा छ अगाडि नै
बोलेरमात्र के हुन्छ नगरे बीचमा छ अडिनु नै
न भूतले बिउँझाउँछ न त भविष्यले बताउने
बर्तवान नै हो हाम्रो सबै कुरा सम्झाउने

लेखेर राखनु यो कुरा सबैले याद राखनु
बजाए बाँसुरी हो नबजाए खेलौना माननु
गर्नेलाई कुरै काफी नगर्नेलाई हुन्छ भारत
बुझे धेरै सुने थोरै नगरे हुन्छ महाभारत

बिझाएको आँखा

संसार हेर्ने दुई आँखा आज किन बिझायो
संसार अट्ने यो मन आज किन निदायो
पापी यो संसारमा मानिस किन रुष्ट छन्
दया माया र करुणादेखि किन परपर छन्

अरुलाई दिने मायाका कुरा आज किन हुँदैन
गुणी मानिसको सृष्टि आज यहाँ किन भएन
धनी धनी हुँदै जाने गरिब जहिले गरीबनै हुने
यो पृथ्वीमा सबै एकै नासको कहिले हुने

बिझाउँछन् यी दुवै आँखा मिच्नै नसक्ने गरि
रसाउँछ यो मनको पहरा कहिल्यै नसुक्ने गरि
रिस राग बढेको छ मनमा थाम्नै नसक्ने गरि
दिने काम कुनै छैन जम्मै जम्मा छ बेसरी

कोही महलमा बस्छन् पटक पटक भोजन गरी
कोही झोपडीमा बस्छनन् एक छाक खाने गरी
अहो प्रभुहरिको लीला छ यो जगमा अपरम्पार
कहिले सबैको भलो होला पार तरी भवसागर

मनको बह पोखिन्छ यो तनमा कहिले काहीँ
आँखाबाट आँसु तर्किन्छ रोक्नै नसक्ने गरी
हे जग सारा गरिबको बेदना पुग्ने हो कहिले
दया माया र बिबेक हरेकमा आउँछ जहिले

म खाउँ मै लाउँ भनी भन्नेहरु आज छन् रमाएको
भोलि के हुन्छ थाह त होला त्यो लाशमा सजाएको
नगरे घमण्ड कहिले त्यो बेगमा उर्लिएको
अन्तमा अबस्य शेखी झर्ला त्यो पाप र कुकर्मको

नबिझाउने बिझ्यो आँखा म केही बोल्दिन
मनको बह मुखमा ल्याई म भन्न सक्तिन
यो संसार कसले बुझ्ने भान्छा घर समान
मिलेर बसे सबैको हुन्छ दुःखको निदान।

बिचार बिज्ञान

विचार बिज्ञानको शक्ति अति महान छ
मष्तिस्कको गहिराइमा छुपेको यो ज्ञान छ
बिचार मनको इच्छा लाखौँ चोटी जन्मिन्छ
यही मनको हजारौं इच्छा भित्र नै मरिहाल्दछ

बिचारले नै बनाउँछ बिचारले नै बिगार्दछ
जीवनको गति र लक्ष बिचारले नै ठम्याउँछ
बिचारले नै सृष्टि गर्छ विचारलेनै स्थिति गराउँछ
बिचारले नै बिचारको जन्म दिलाउँछ

बिचारले नै मानिसको अन्त गराउँछ
बिचारले नै मानिसलाई असभ्य बनाउँछ
बिचारले नै मानिसलाई सभ्य बनाउँछ
बिचारको शक्ति जीबनमा असीमित छ

जीवनको हरेक पहलुमा ठूलो प्रभाब छ
बिचारलाई विज्ञानमा लगी हेर्ने गर
मष्तिस्कको प्रणालीको खोज गर्ने गर
बिचारले नै जीवनको दिशा तय गर्छ

बिचारले नै आध्यात्मिक उन्नति गर्छ
बिचारलाई केलाउ, छान र निचोड निकाल
विचारबाट मह काढ र जीवन मधु बनाउ
विचार विज्ञानको ज्ञानले जीवंलाई दिन्छ
नयाँ दिशा र दर्शन।

बिचारको शक्तिले जीबनलाई दिलाउँछ सुखी
यसैले नै जीबनलाई बनाउँछ आनन्द मुखी
यसैले नै जीबंलाई बनाउँछ आनन्द मुखी
हरि ओम तत्सत




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.