कविता :ओ बुद्ध !
म युद्ध चाहन्न
मलाई वंकरमा थुनेर
ड्रोनले नहिर्काउ
म मानवता पुकार्छु
मलाई बाँच्न देउ
म जीवनको मूलबाटो खनिरहेछु।
मध्यपूर्वको आँगन
बारुदले कालाम्मे भै डढेको छ
बमहरु पड्कन्छन
धुवाँले विषाक्त छ आकाश
मान्छेहरु भयभीत छन
अनिशचयको मृत्युले पछ्याए पछि।
आमाहरुको आर्तनाद सुनिन्छ
रित्तिएका छन काखहरु
क्षत विक्षत लाश बटुलेर
अल्लाह पुकार्छन
नमाज पढ्दै
प्रतिशोधको आक्रोश पोख्छन।
बग्दैन पानी
बग्छ रगत
रगतले मुछिएको एउटा युवा
स्वतन्त्रताको झण्डा उठाई
स्वाभिमानको कथा लेख्छ रगतले
बलिदानीको गाथा गाउँदै।
सिंह जस्तो गर्जने साम्राज्यवाद
मान्छेको मासु चपाउँदै
देशको सीमा रेखा कुल्चेर
बलात्कार गर्छ जननीलाई
हतियारको दम्भले माती
बलात् अपहरण गर्छ मानव सभ्यताको।
प्यालेस्टाइन छापामार
देश खोजि रहेछ
उ अनागरिक हुनुको पीडा
बन्दुक उठाएर अभिमत जाहेर गर्छ
मर्न मार्न प्रतिवद्ध ऊ
बढाउनेछ कदम, जित्ने छ युद्ध ।
खाडी तनाव ग्रस्त छ
आकाशमा उड्दैनन चराहरु
उड्छन वम वर्षक विमान
मारिन्छन निहत्था मान्छेहरु
चोइटिन्छन सपना
रुन्छन आफन्तहरु।
म शान्तिको याचना गर्दै
युद्धविरामको आह्वान गर्छु
किन गर्छौ नर संहार?
तिम्रो नृशंसता रोकिनु पर्छ
ओ बुद्ध!
तिमी आँसु बगाइरहेछौ किन?
सुन्दरहरैंचा -०६, दुलारी, मोरङ















Facebook Comment