खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी

डिसी नेपाल
२१ फागुन २०८२ ११:१४
24
Shares

काठमाडौं। अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

तेहरानको ग्रान्ड मोसल्ला राजधानीका सबैभन्दा ठूला राज्य तथा धार्मिक समारोह आयोजना हुने विशाल प्रार्थना स्थल हो। खामेनीको निधनपछि आयोजना गरिएको तीन दिने श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत हजारौँ शोकाकुल नागरिक उक्त स्थलमा उपस्थित हुने अपेक्षा गरिएको छ।

इरानमा सर्वोच्च नेताको निधनपछि “विदाइ समारोह” तथा त्यसपछि “अन्त्येष्टि जुलुस” आयोजना गर्ने प्रोटोकल रहेको बताइएको छ। यता, इरानले बिहीबार इजरायल र अमेरिकाले इस्लामिक गणतन्त्रको शासन परिवर्तन गर्ने प्रयास गरे इजरायलको डिमोना आणविक केन्द्रलाई निशाना बनाउने चेतावनी दिएको छ।

यो चेतावनी इजरायलका रक्षामन्त्री इस्रायल कात्जले “नयाँ नेता नियुक्त भए पनि उसलाई समाप्त पार्ने लक्ष्य हुन सक्छ” भन्ने अभिव्यक्ति दिएपछि आएको हो।

उता इजरायलमा भने इरानले फेरि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको इजरायली रक्षा बलले जनाएको छ। केन्द्रीय इजरायल, जेरुसेलम क्षेत्र तथा वेस्ट बैंकका केही भागमा सायरन बजाइएको बताइएको छ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले “अपरेसन ट्रु प्रमिस–४” अन्तर्गत १९औँ चरणको संयुक्त मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको जनाएको छ। आईआरजीसीका अनुसार “या हसन इब्न अली” नामक कोड प्रयोग गरी कब्जामा रहेका क्षेत्र र अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ठूलो विस्फोटसहित आक्रमण सुरु गरिएको हो।

यसअघि पनि आईआरजीसीले क्षेत्रभरि रहेका इजरायली तथा अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको थियो । इरानी सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार यो आक्रमण इजरायल र अमेरिकाको “उत्तेजनारहित आक्रमण” को जवाफस्वरूप सुरु गरिएको बताइएको छ।

आईआरजीसीले अमेरिकी तथा इजरायली सातभन्दा बढी उन्नत रडार प्रणाली ध्वस्त पारेको दाबी गर्दै यसले उनीहरूको निगरानी सञ्जाल “अन्धो बनाएको” उल्लेख गरेको छ। साथै इरानी मिसाइलहरूले इजरायलको रक्षा मन्त्रालय परिसर, तेल अवीव तथा बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि निशाना बनाएको दाबी गरिएको छ।

इरानी पक्षका अनुसार लगातार मिसाइल र ड्रोन आक्रमणका कारण इजरायलका विभिन्न क्षेत्रमा घण्टौँसम्म हवाई आक्रमणको सायरन बजेको र सर्वसाधारणलाई आश्रयस्थलमा बस्न बाध्य बनाएको छ । आगामी दिनमा आक्रमण अझ तीव्र र व्यापक हुने चेतावनी पनि इरानले दिएको छ। पश्चिम एसियामा जारी यो द्वन्द्व बिहीबार छैटौँ दिनमा पुगेको छ।

अमेरिकी पक्षले आफ्नो सैन्य अभियान “भर्खर सुरु भएको” दाबी गरेकाले यो संघर्ष अपेक्षाभन्दा लामो समयसम्म चल्न सक्ने आशंका गरिएको छ। एएनआई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.