मतदान स्थलबाट प्रधानमन्त्री कार्कीले भनिन् : मेरो कर्तव्य पूरा भयो
काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको धापासीस्थित मतदान केन्द्रमा पुगेर आज बिहान मतदान गर्दै आफ्नो कर्तव्य पूरा भएको बताएकी छन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले आफ्नो जिम्मेवारी पूरा भएको बताउँदै भनिन्,‘मेरो कर्तव्य पूरा भयो, धेरै खुशी छु।’ यो निर्वाचन पछिल्लो केही महिनादेखि जारी राजनीतिक अस्थिरतापछि हुँदैछ।
गत सेप्टेम्बरमा भएको ऐतिहासिक ‘जेनजी आन्दोलन’ पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो र प्रतिनिधिसभा विघटन गरिएको थियो। त्यसपछि गत भाद्र २७ मा कार्कीलाई अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा नियुक्त गरिएको थियो।
यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको बताउँदै सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।
यसपटक १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले प्रतिनिधिसभाका २७५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका ६ हजार ५४१ उम्मेदवारको भाग्य तय गर्नेछन्।
यसअघि २०७९ को निर्वाचनको तुलनामा यसपटक करिब ९ लाख १५ हजार नयाँ मतदाता थपिएका छन्। कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाको हिस्सा ५२ प्रतिशत रहेको बताइएको छ।
उम्मेदवारमध्ये ३ हजार ४०६ जना प्रत्यक्ष (फस्र्ट पास्ट द पोस्ट) प्रणालीबाट प्रतिस्पर्धामा छन् भने बाँकी समानुपातिक प्रणालीतर्फ छन्। प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ सिटका लागि ६५ दलका २ हजार २६३ उम्मेदवार तथा १ हजार १४३ स्वतन्त्र उम्मेदवार मैदानमा छन्।
लैङ्गिक प्रतिनिधित्व भने अझै असन्तुलित देखिएको छ। कुल उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३८८ महिला छन् भने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जनामात्र उम्मेदवार छन्।
उम्मेदवारको उमेर समूह पनि असमान देखिएको छ। ४१ देखि ६० वर्ष उमेर समूहका १ हजार ९२५ उम्मेदवार छन् भने ३० वर्ष वा सोभन्दा कम उमेरका मात्र २०१ जना उम्मेदवार छन्।
समानुपातिकतर्फका ११० सिटका लागि ६३ दलले ३ हजार १३५ उम्मेदवारको सूची बुझाएका छन्। जसमा पुरुष र महिला बराबरी संख्यामा छन्। राष्ट्रिय दलको मान्यता पाउन कुनै दलले कम्तीमा तीन प्रतिशत समानुपातिक मत प्राप्त गर्नुका साथै प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने व्यवस्था छ।
निर्वाचन सुरक्षाका लागि देशभर १० हजार ९६३ मतदान केन्द्रमा ३ लाख ४१ हजार ११३ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा १ लाख ४९ हजार अस्थायी “निर्वाचन प्रहरी” समेत रहेका छन्। प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बुधबार बसेको सुरक्षा परिषद् बैठकले यसपटकको निर्वाचन विगतको तुलनामा अझ पारदर्शी हुने निष्कर्ष निकालेको छ।
निर्वाचन आयुक्त भण्डारीले ‘कुनै शक्तिले पनि निर्वाचन अवरुद्ध गर्न सक्दैन’ भन्दै विशेषगरी युवा मतदाताको उच्च सहभागिताले मतदानदर बढ्ने विश्वास व्यक्त गरेका छन्। २०२२ को निर्वाचनमा मतदानदर ६१.४ प्रतिशतमा झरेको थियो भने २००६ पछि औसत मतदानदर ६९.४ प्रतिशत रहेको छ।
दुर्गम पहाडी क्षेत्रबाट मतपेटिका छिटो संकलन गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। निर्वाचन अधिकारीहरूले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने अपेक्षा गरेका छन्।







डिसी नेपाल







Facebook Comment