सम्पादकीय : धन्यवाद आमा !

डिसी नेपाल
२१ फागुन २०८२ १७:०१
144
Shares

प्रधानमन्त्री सुशीला कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गरेकी छिन् । सिंगो देश जलिरहेको, निर्वाचित प्रधानमन्त्री पदीय जिम्मेवारी छाडेर सेनाको शरणमा गइसकेको र पूरै मुलुक नेतृत्वविहीन भएको अवस्थामा देशलाई निकास दिने गहन जिम्मेवारी काँधमा बोकेर प्रधानमन्त्रीको कुर्सीमा बसेकी कार्कीले आफ्नो प्रमुख जिम्मेवारी पूरा गरेकी छिन् । देशमा शान्तिपूर्ण रुपमा प्रतिनिधि सभाको निर्वाचन लगभग सम्पन्न भएको छ । अब प्रधानमन्त्रीले केही सीमित औपचारिकताहरु मात्र पूरा गर्न बाँकी छ ।

मतदान सम्पन्न लगभग भइसकेको छ र अब मतगणना सुरु गर्ने तयारी छ । मतगणना सकिएसँगै नयाँ प्रतिनिधि सभाको गठन हुनेछ । प्रतिनिधि सभाले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै कार्कीको जिम्मेवारी औपचारिक रुपमा सम्पन्न हुनेछ । नयाँ प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेसँगै प्रधानमन्त्री कार्कीले औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरेर विदा लिनेछिन् । र, त्यो क्षणमा उनको नाम नेपालको इतिहासमा स्पर्णिम अक्षरले लेखिनेछ ।

निर्वाचित सरकार अपदस्थ भइसकेको र पूरै मुलुकमा अराजकता फैलिएको समयमा कार्की देशको अभिभावकीय जिम्मेवारीका लागि चुनिएकी थिइन् । देशले दिएको ऐतिहासिक दायित्व स्वीकारेर प्रधानमन्त्रीको जिम्मेवारी लिइरहँदा कार्कीका लागि बाटो निकै कष्टपूर्ण थियो । जुनसुकै व्यक्ति जुनसुकै बेला सिंहदरबार र बालुवाटार छिर्ने र पाखुरा सुर्किंदै उर्दी दिने अवस्थामा उनलाई सिंगो देशलाई सहज अवतरण गराउनु निकै चुनौतीपूर्ण थियो । तर, उनी आफ्नो दायित्वबाट कहिल्यै पछि हटिनन् ।

कार्की प्रधानमन्त्री बन्दै गर्दा उनले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नेमा धेरैतिरबाट शंका गरिएको थियो । देशमा प्रमुख राजनैतिक दलहरुले उनलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न समेत मानिरहेका थिएनन् । अर्कोतिर आन्दोलनकारी पक्षबाट आन्दोलनमा दमन गरेको आरोप लागेकाहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्ने दबाब पनि चर्को थियो । एकातिर आन्दोलनरत पक्षको चर्को दबाब र अर्कोतिर देशका संगठित राजनैतिक शक्तिको चरम असहयोगको चेपुवामा परेकी उनले एक–दुई पटक मुखै खोलेर भनेकी थिइन् – ‘म त हैरान भइसकें ।’

निरन्तर आइरहेका दबाबले उनी दिक्दार त पक्कै भएकी थिइन् तर हार मानेकी थिइनन् । उनी हार मान्ने पक्षमा समेत थिइनन् । राजनैतिक दलको नेतृत्वबाटै तोकिएको समयमा निर्वाचन हुँदैन भन्ने खालको अभिव्यक्ति आइरहेको थियो । आन्दोलनकारी पक्ष आफ्ना माग तत्काल पूरा गराउन चर्को दबाबमा उत्रिएको थियो र सिंगो देशको रक्षा गर्ने जिम्मेवारी पाएका सुरक्षा निकायको मनोबल गिरेको थियो । त्यो विषम परिस्थितिमा पनि कत्ति विचलित नभइ देशलाई यो अवस्थामा ल्याएर निकास दिने प्रधानमन्त्री कार्कीप्रति सिंगो देश कृतज्ञ र ऋणी रहनेछ ।

अब देशमा जननिर्वाचित सरकार आउनेछ । पूर्ण कार्यकारी अधिकारसहितको जनादेश प्राप्त सरकार बनेपछि यो सरकारले आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्ने अपेक्षा गरिएको छ । आन्दोलनको प्रमुख कारण मानिएको भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती हटाइ सुशासन ल्याउनप नि त्यो सरकार सफल होला भन्ने आशा छ । मुलुकलाई निकास दिएर ऐतिहासिक जिम्मेवारीको भारी बिसाउन लागेकी आमालाई कृतज्ञताका साथ हार्दिक नमन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.