झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता
सुरुङ्गा(झापा) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
पछिल्लो मतपरिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ।
झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले हालसम्म ६ हजार ५ सय ५१ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओलीले एक हजार ४२८ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले १२९ मत प्राप्त गरेका छन्।
झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार २८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गरेका छन्।
त्यस्तै झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि हुनहुन्छ। नेकपा (एमाले) का देवराज घिमिरेले एक हजार ३१० मत प्राप्त गर्दा राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईले १९१ मत प्राप्त गरेका छन्।
झापा–३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा रहनुभएको छ। राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले एक हजार ४६८, नेकपा (एमाले) का हरिबहादुर राजवंशीले एक हजार ३७ र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गरेका छन्।
झापा–४ मा रास्वपाका शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित अगाडि छन्। नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले एक हजार २४८ मत ल्याउँदा नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गरेका छन्। जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment