गोरखा–१ को मतपेटिका बोकेको हेली पोखरामा आकस्मिक अवतरण

डिसी नेपाल
२२ फागुन २०८२ १८:२०
1.2k
Shares

गोरखा। गोरखाको हिमाली भेगको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ। खराब मौसमका कारण गोरखा सदरमुकाममा हेली अवतरण गर्न नसकेपछि पोखरा लगेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए।

आज दिउँसोदेखि हिमाली भेगका २३ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न सुरु गरिएको थियो। ‘हेलीले पहिलो लटमा चुमनुब्री गाउँपालिकाको वडा नं ७ स्थित छेकम मतदान केन्द्र र वडा नं ६ को चुम्चेत मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइसकेको छ”, उनले भने, “दोस्रो लटमा चुमनुब्री–१ स्थित गौरीशङ्कर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका ल्याउने क्रममा मौसमले साथ दिएन।”

खराब मौसमका कारण उत्तरी गोरखाको मतपेटिका सङ्कलन प्रभावित बनेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए।

जिल्लाको तल्लो भेगका मतपेटिका भने गए राति नै ढुवानी भइसकेको छ। गोरखा क्षेत्र नं २ को मतगणनासमेत सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए। गोरखा–१ को मतगणना जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भूतथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने गौतमको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.