धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी
जनकपुर। धनुषा जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवार विजयी भएका छन्। धनुषामा चार निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको हो। यसरी विजयी हुनेहरूमा निर्वाचन क्षेत्र नं २ बाट विनोद यादव, निर्वाचन क्षेत्र नं ३ बाट मनिष झा तथा निर्वाचन क्षेत्र नं ४ बाट राजकिशोर महतो विजयी भएको बताइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका यादवले ४१ हजार ६३७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गरेका थिए।
यस्तै, धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका झाले ४३ हजार ९८८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका बिमलेन्द्र निधिले १६ हजार ६५२ प्राप्त गरे।
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका महतोले ४८ हजार २७० मत प्राप्त गरे। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ प्राप्त गरे।
यसैबीच, निर्वाचन आयोगले धनुषा १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको सो आयोगले सूचना जारी गरी जनाएको छ।
आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो।







डिसी नेपाल







Facebook Comment