समितिबाट बिदा हुँदै सदस्यहरूले भने : जनताको आवाज उठाउने काम गर्‍याैं

डिसी नेपाल
२५ फागुन २०८२ १३:३८
396
Shares

काठमाडौं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबार बसेको बैठकमा समितिबाट पदावधि समाप्त भएका सदस्यहरूले आफ्नो कार्यकालको अनुभव आदान–प्रदान गरेका छन्।

बैठकमा बोल्दै समितिका सदस्य गोपी बहादुर सार्की आछामीले आफूहरूले कार्यकालमा गरेका कामप्रति सन्तुष्टि व्यक्त गरे। उनले समितिले विभिन्न विधेयकहरू पारित गराएको र केही विधेयकहरू कानुनी प्रक्रिया पूरा गर्दै विचाराधीन अवस्थामा रहेको उल्लेख गरे।

उनले भने, ‘हामीले जति काम गर्‍याैं, त्यसले केही हदसम्म सन्तुष्टि दिने शैलीको काम गर्‍याैं जस्तो लाग्छ। कतिपय विधेयकहरू हामीले पास गर्‍याैं, कतिपय विधेयकहरू कानुनी रूप पाएर विचाराधीन पनि छन्। यो एउटा चुनौतीपूर्ण काम हो जस्तो लाग्छ। जनताको आवाज उठाउने, व्यक्त गर्ने र ध्यानाकर्षण गराउने कामहरू पनि हामीले गरेका छौं।’

त्यसैगरी समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आफूले समितिको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै कार्यकालमा साझा मुद्दाहरूमा निरन्तर बहस भएको बताए।
उनले भने, ‘मैले समितिको नेतृत्व गर्ने अवसर पाएँ। यो बीचमा हामीले जहिले पनि साझा मुद्दामा बहस गर्‍याैं। ती साझा मुद्दालाई जनताको लागि, समाजको लागि र देशको लागि कसरी काम गर्न सकिन्छ भनेर छलफल गरेका छौं। संघीय सबलीकरणको क्षेत्रमा हामीले उल्लेखनीय रूपमा धेरै कामहरू गरेका छौं।’

शेर्पाले समितिले तयार पारेका दस्तावेज र गरेका कामहरूले हालको राजनीतिक संकटको अवस्थामा समेत भविष्यमा मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।

उनले थपे, ‘मेरो नेतृत्वमा माननीय सदस्यहरूले गरेको कामको पनि प्रशंसा गर्न चाहन्छु। माननीय सदस्यहरूले खेलेको भूमिका मेरो लागि अवसर हो। यहाँबाट गएपछि पनि उहाँहरूले आफ्नो कार्यक्षमता देखाउनुहुनेछ भन्ने आशा छ। आफ्ना विचारप्रति पनि उहाँहरू प्रतिबद्ध हुनुहुनेछ । माननीय सदस्यहरूले दिएको योगदान र त्यसबाट बनेका दस्तावेजहरू राष्ट्रका लागि सम्पत्ति नै हुन्।’

बैठकमा अन्य सदस्यहरूले पनि आफ्नो कार्यकालका अनुभव र समितिले गरेका कामबारे धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.