पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

डिसी नेपाल
२५ फागुन २०८२ २०:२५
32
Shares

लमजुङ। लमजुङको मर्स्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङबस्ती पुनर्निर्माण गरेर विसं २०७६ साल (घरबास) होमस्टे सञ्चालन भएसँगै नायुँ र घनपोखरा घुम्न आउने पर्यटकको घुइँचो लाग्न थालेको हो।

सार्क राष्ट्रकै नमूना गाउँका रुपमा परिचित घलेगाउँबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको नायुँ र त्यसभन्दा केही माथि रहेको घनपोखरा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको घुमघाम गर्ने रोजाइको गन्तव्य बनेको हो।

यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण, अन्नपूर्ण (चौथो)लगायतका एक दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। लमजुङ मध्यनेपाल नगरपालिका–१ जिताबाट घनपोखरा घुम्न आएका सुमन घिमिरे घनपोखराको आतिथ्यता र त्यहाँबाट देखिने दृश्यावलोकनले आफूलाई ज्याँदै आनन्दित तुल्याएको बताउँछन। यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्।

नायुँ र घनपोखरा घुम्न आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, कुरिलो, टुसा, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन्।

आफ्ना कला संस्कृति जोगाइराख्न रोधीसमेत बस्ने गरेका छन्। गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादाबाट सम्मान गरिँदै आएको छ।

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, मस्र्याङ्दी नदी किनाराका फाँट, मिदिम नदीका किनाराले पर्यटकलाई थप आनन्दित बनाउँदै आएको छ।

समुद्री सतहदेखि दुई हजार १५० उचाइमा रहेको रमणीय घनपोखरामा गुरुङ समुदायको ६५ घर रहेका छन्। जसमध्ये ११ घरमा होमस्टे सञ्चालन गरिएको छ। यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ।

नायुँ र घनपोखरामा मात्र एक रातमा १०० जना पाहुना सजिलै बस्न सक्छन्। नायुँ घनपोखरा होमस्टेका सञ्चालक कालीमाया गुरुङ शुक्रबार र शनिबार आफ्नो होमस्टे आउने पर्यटकको संख्या बढी हुने बताउँछिन्। “यहाँ मासिक ४०० देखि ५०० पाहुनाहरु आउनुहुन्छ, शुक्रबार र शनिबार भने धेरै हुने गर्छ”, उनले भनिन्।

होमस्टेमा आएका पाहुनालाई जानेबित्तिकै ‘वेलकम ड्रिङ्क्स’, चिया, कफीले स्वागत गर्ने चलन रहेको छ। राती स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको सञ्चालक गुरुङ बताउँछिन्। यहाँ जानवित्तिकैको खाजा, रातिको खाना, विहानको खाजा र सुतेको प्रतिव्यक्ति जम्मा रु एक हजार २५० शुल्क लाग्ने गरेको छ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ नायुँ र घनपोखराको पर्यटनलाई थप विकास गर्नका लागि गाउँपालिकाले योजना बनाएर काम गरिरहेको बताउँछन्। “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरेका छौँ”, उनले भने।

त्यसैगरी घनपोखरा र नायुँको होमस्टेलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि होमस्टे सञ्चालकलाई कुकिङ तालिम, होमस्टे सञ्चालन तालिम, विभिन्न बैठक तथा गोष्ठी सञ्चालन गरिरहेको अध्यक्ष गुरुङ बताउँछन्।

घनपोखरा र नायुँमा चैत–वैशाखमा फुल्ने विभिन्न थरीका लालीगुराँस, फुल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको छ। ग्रामीण जीवनशैलीलाई घनपोखराले जीवन्त राखेको छ। घनपोखरा लमजुङको सदरमुकाम बेँसीसहरबाट २७ किलोमिटर पार गरेपछि पुगिन्छ। यहाँ जानका लागि ठूलो बसमा रु ३५० र जिपमा रु ४५० भाडा लाग्ने गरेको छ। पछिल्लो समय लमजुङ सदरमुकाम बेँसीसहर, काठमाडौं र पोखराबाट घनपोखरा र नायुँ जाने पाहुनाहरु बढेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.