यस्तो छ कोशी प्रदेशबाट नवनिर्वाचित माननीयको सूची, को-को भए निकटतम प्रतिस्पर्धी ?
विराटनगर। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ। प्रदेशका १४ वटै जिल्लाका २८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै नयाँ माननीयहरूको टुंगो लागेको हो।
निर्वाचित २८ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ। उसले एक्लैले १७ सीट जितेको छ। त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेले समान ४-४ सीट जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ। अन्य दलका कुनै पनि उम्मेदवार कोशी प्रदेशबाट निर्वाचित हुन सकेनन्।
झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्विप गरेको छ। बालेन्द्र शाह (बालेन) झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बन्न सफल भए। शाहले ६८ हजार ३४८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै पाए।
निरन्तर यही क्षेत्रबाट चुनाव जित्दै आएका ओलीलाई शाहले यसपटक नराम्रो हार चखाएका हुन्। ३६ वर्षीय बालेन्द्र शाह पेशाले इन्जिनियर भए पनि केही वर्षअघिसम्म नयाँ पुस्तामाझ र्यापरका रूपमा परिचित छन्। उनी २०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राष्ट्रिय चर्चाको केन्द्रमा पुगेका हुन्।
मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा बनेको लोकप्रियतालाई वास्तविक भूगोलसम्म विस्तार गर्न सफल भए। सामाजिक सञ्जालमार्फत स्थापित भएको उनको छवि राजनीतिक नेतृत्वसँग जोडिँदै अझ व्यापक बनेको हो।
२०७२ सालको महाभूकम्पपछि उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउँदै उनले समाजसेवीको छवि पनि बनाएका थिए। युवामाझ लोकप्रिय रहेका बालेन्द्र शाह नै राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को कुनै निर्णय नगरेमा अबको प्रधानमन्त्री बन्ने छन्।
झापाकै क्षेत्र नं.४मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका शम्भु प्रसाद ढकालले ४३ हजार ६३१ मत पाए। उनका निकटतम प्रतिस्पर्धी बनेका नेकपा (एमाले) का लाल प्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत पाए। २०७९ सालको निर्वाचन भने लिम्बूले नै जितेका थिए।
क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित भए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनलाई पराजित गरेका हुन्।
निकटतम प्रतिस्पर्धी बनेका लिङ्देनले १७ हजार २९४ मत पाएका छन्। २०७९ सालको निर्वाचन भने लिङ्देनले नै जितेका थिए।
क्षेत्र नं. २ मा पूर्व उपसभामुख समेत रहेकी इन्दिरा राना मगरले पूर्वसभामुख नेकपा (एमाले)का देवराज घिमिरेलाई पराजित गरिन्। रानाले ६० हजार ११० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका घिमिरेले ११ हजार ३६८ मत मात्रै पाए।
२०७९ सालको निर्वाचनमा घिमिरे विजयी भई सभामुख बनेका थिए। यसअघि समानुपातिक सांसद रहेकी रानाले घिमिरेलाई नै हराएकी हुन्।
क्षेत्र नं. १ मा पनि रास्वपा नेतृ निशा डाँगी निर्वाचित भइन्। उनले नेपाली कांग्रेसका केशव राज पाण्डेसहितलाई पराजित गरिन्। डाँगीले ४५ हजार ६८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पाण्डेले १० हजार ५५० मत ल्याएका छन्। यो क्षेत्रमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०७९ सालको निर्वाचनमा यहाँ जित हासिल गरेका थिए।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ। कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालादेखि चर्चामा रहेका डा. सुनिल शर्मासम्मले यहाँबाट हार व्यहोर्नुपर्यो। मोरङबाट कांग्रेसका महामन्त्री समेत पराजित भएका छन्।
क्षेत्र नं. ६ मा रास्वपाकी उम्मेदवार रुविना आचार्य निर्वाचित भइन्। आचार्यले ५५ हजार ५१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै पाए। कोइराला २०७९ सालको निर्वाचनमा भने विजयी भएका थिए।
क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झाले ३० हजार ४३४ मतसहित विजय हासिल गरिन्। उनको निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका फुल कुमार लालवानीले ९ हजार ४१५ मत पाए। यसअघि यो क्षेत्र स्वतन्त्र उम्मेदवार रहेका योगेन्द्र मण्डलले जितेका थिए।
क्षेत्र नं. ४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे रास्वपाका सन्तोष राजवंशीसँग पराजित भए। राजवंशीले ४० हजार ८३३ मत ल्याएर निर्वाचन जित्दा निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत पाएका छन्। यो क्षेत्र २०७९ को निर्वाचनमा नेकपाका अमनलाल मोदीले जितेका थिए।
क्षेत्र नं. ३ कांग्रेस नेता डा. सुनिल शर्माको पकडको क्षेत्र मानिन्थ्यो। तर यहाँ पनि रास्वपाका उम्मेदवार गणेश कार्कीले विजय हासिल गरे। कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका शर्माले २४ हजार ३५४ मत पाए।
२०७९ को निर्वाचनमा शर्मा भारी मतका साथ निर्वाचित भएका थिए। क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कुमार कार्कीले ४० हजार ९२४ मत ल्याएर निर्वाचन जिते। नेकपा (एमाले)का दिलीप कुमार अग्रवाल १५ हजार ६२४ मतसहित निकटतम प्रतिस्पर्धी बनेका छन्।
२०७९ को निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल विजयी बनेका थिए। क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित निर्वाचित भए। यहाँ श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा १७ हजार ५२२ मतसहित उपविजेता बनिन्। २०७९ को निर्वाचनमा कांग्रेसका मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बुले जितेका थिए।
चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पनि कांग्रेस एमाले बढारिएका छन्। यहाँ तीन क्षेत्र रास्वपाले जित्दा एकमा श्रम संस्कृति पार्टीले जित हाँसिल गरेको छ।
क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राई निर्वाचित भए। राईले ३५ हजार ७४१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको २७ हजार २४९ मत आयो। अन्य उम्मेदवारको जमानत जफत नै भएको छ।
यो क्षेत्रमा २०७९ को निर्वाचनमा जनता समाजबादी पार्टीबाट अशोक राईले जितेका थिए।
क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल बिक्रम थापा निर्वाचित भए। उनले कांग्रेसका राजीव कोइरालासहितलाई पराजित गर्दै संसदमा यात्रा सुनिश्चित गरेका हुन्। थापाले ५७ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे।
यो क्षेत्रमा २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट भीम आचार्यले जितेका थिए।
क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरीले निर्वाचन जितेका छन्। अघिल्लो संसदमा पनि समानुपातिक सांसद रहेका उनले ४७ हजार ४२१ मतसहित यो निर्वाचन जितेका हुन्। यहाँ निकटतम बनेका नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २० हजार ५०१ मत पाएका छन्।
यो क्षेत्रमा पनि अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरी निर्वाचित भएकी थिइन्। अहिले भने उनि तेस्रो बन्न पुगिन्। क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह ४२ हजार ७७१ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की मात्र १६ हजार ५८७ मत पाए। कार्की नै यसअघिको निर्वाचनमा निर्वाचित भएका थिए।
उदयपुर जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको यो जिल्लाको १ नं निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पारश मणि गेलाल ३० हजार ५९० मतसहित निर्वाचित भए। उनको निकटतम प्रतिस्पर्धी बनेका श्रम संस्कृति पार्टीका राजेश कुमार राईले ११ हजार ६०६ मत पाएका छन्।
यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका डा.नारायण खड्का निर्वाचित भएका थिए।
अघिल्लो निर्वाचनमा एमालेका अम्बर बहादुर रायमाझिले जितेको २ नं. निर्वाचन क्षेत्रमा पनि यो पटक रास्वपाका सुर्य बहादुर तामाङले जित हासिल गरे। १४ हजार ८०२ मत पाएका उनको निकटतम प्रतिस्पर्धि बनेका रायामाझीले भने यो पटक ७ हजार ६४८ मत मात्रै पाएका छन्।
दुई निर्वाचन क्षेत्र रहेको इलामा भने १ नं. क्षेत्रमा कांग्रेस र २ नं. मा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। इलाम क्षेत्र नं. १ मा कांग्रेसका निश्कल राईले १४ हजार ५४३ मतसहित निर्वाचन जित्दा निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १३ हजार ६३२ मत पाएका छन्।
यो क्षेत्र २०७९ को निर्वाचनमा भने नेकपा एमालेले जित हासिल गरेको थियो। एमाले उम्मेदवार महेश बस्नेत यहाँ निर्वाचित भएका थिए।
क्षेत्र नं. २ मा भने एमालेका सुहाङ नेम्वाङले आफ्नो जितलाई कायम राखेका छन्। २०८१ मा भएको उपनिर्वाचनमा विजयी भएका नेम्वाङले यो निर्वाचनमा २२ हजार ४२६ मत ल्याएर निर्वाचित भएका छन्। निकटतम बनेका नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत पाएका छन्।
अघिल्लो २०७९को निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको पाँचथरमा भने यस निर्वाचनमा कांग्रेस उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन्। केरुङले १७ हजार २३३ मत पाउँदा श्रम संस्कृति पार्टीका हस्त राज शेर्माले १४ हजार ७३४ मत पाएर दोस्रो बनेका छन्।
धनकुटा जिल्लामा एमालेका उम्मेदवार राजेन्द्र राई निर्वाचित भएका छन्। २०७९ को निर्वाचनको जितलाई नै कायम राख्दै राईले १८ हजार १३२ मतका साथ निर्वाचित भएका हुन्। दोस्रो बनेका नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन्।
तत्कालीन माओवादी केन्द्रका उम्मद्वार सुदन किराँतीले २०७९ को निर्वाचन जितेको भोजपुर जिल्ला भने यो पटक श्रम संस्कृति पार्टीका धु्रबराज राईले बाजी मारेका छन्। राईले १६ हजार ६६३ मत पाउँदा निकटतम बनेका नेकपा (एमाले)का शेरधन राईले भने १४ हजार ७५० मत पाएका छन्।
तत्कालीन माओवादी केन्द्रका उम्मद्वार नै रहेका रामकुमार राईले २०७९ को निर्वाचन जितेको खोटाङ जिल्लामा पनि यो निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारले विजय हाँसिल गरेका छन्।
सो पार्टीका उम्मेदवार आरेन राईले १६ हजार ६१२ मतसहित निर्वाचन जित्दा नेकपा एमालेका देव विक्रम राई १२ हजार ७१४ मतका साथ दोश्रो भए।
२०७९ को निर्वाचन कांग्रेसका नेता रामहरि खतिवाडाले जितेको जिल्ला हो ओखलढुंगा। तर यो निर्वाचनमा भने कांग्रेसकै उम्मेद्वार कुमार लुईँटेललाई ५ मतान्तरले हराउँदै रास्वपाका उम्मेदवार विश्वराज पोखरेल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।
पोखरेलले १३ हजार ९५३ मत पाउँदा नेपाली कांग्रेसका लुईटेलले १३ हजार ९४८ मत पाएका छन्।
तेह्रथुम जिल्लामा भने नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा जितेको साख जोगाएको छ। कांग्रेस नेतृ सीता गुरुङले जितेको यो जिल्लामा यो पटक पनि कांग्रेसकै उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भएका छन्।
सुब्वाले ११ हजार ५६१ मतका साथ निर्वाचन जित्दा नेकपा (एमाले)का भानु भक्त ढकाल १० हजार ६८२ मतसहित दोस्रो भएका छन्।
सोलुखुम्बु जिल्लामा पनि नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। कांग्रेका उम्मेदवार प्रकास सिंह कार्की १३ हजार १६६ मतका साथ निर्वाचित भएका हुन्। उनको निकतम प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका अशिम राई ९ हजार ४१४ मतका साथ आए।
यो जिल्ला भने २०७९ को निर्वाचनमा नेकपा एमालेले जितेको थियो। एमालेका मानबीर राईले सो निर्वाचन जितेका थिए। एसअघि कांग्रेसका दीपक खड्काले जितेको जिल्ला संखुवासभामा भने यो निर्वाचनमा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन्।
कार्कीले १५ हजार ६३६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पा १५ हजार मतका साथ निकटतम प्रतिस्पर्धी भएका छन् ।
कोशी प्रदेशको अर्को जिल्ला ताप्लेजुङमा पनि यो निर्वाचन एमालेले जित हाँसिल गरेको छ । एमालेका उम्मेद्वार क्षितिज थेबे १३ हजार ९६२ मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु ११ हजार ७११ मतका साथ दोस्रो भएका छन् ।
यो जिल्ला एसअघि पनि नेकपा एमालेले नै जितेको जिल्ला हो । एमालेका उपमहासचिव योगेश भट्टराईले अघिल्लो निर्वाचन जितेका थिए ।







डिसी नेपाल







Facebook Comment