समानुपातिकमा रास्वपाको एक सिट घट्ने संकेत
काठमाडौं । देशैभरी समानुपातिकतर्फको मतगणना जारी छ । आज बिहान सबेरैसम्मको गणनाअनुसार रास्वपाले ५८ सिट पाउने देखिएको थियो । तर, बिहान १० बजेपछिको अपडेडले रास्वपाले ५७ सिट मात्रै पाउन सक्ने संकेत गरेको छ ।
१० बजेको अपडेटमा रास्वपाको मत अनुपात घटेर ४७.९ प्रतिशतमा झरेको हो । बिहान सबेरै रास्वपाको मत कूल मतको ४८ प्रतिशतभन्दा माथि थियो । यद्यपि करिब ६ लाख मत गणना हुन बाँकी नै भएकोले यो अनुपात फरक पर्ने सम्भावना पनि बाँकी नै छ । पछिल्लो अपडेटमा कूल १ करोड ४ लाख १९ हजार २३४ सदर मत गणना भएका छन् ।
रास्वपाले ५० लाख मत कटाएको छ । यसले ५० लाख ५२ मत पाएर अग्रस्थानमा छ । नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत पाएको छ । नेकपा एमालेले १४ लाख ११ हजार ४२९, नेकपाले ७ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राप्रपाले ३ लाख २४ हजार ८८१ मत पाएका छन् ।
यी ६ दलबाहेक अन्य कुनै पनि दलले कूल मतको ३ प्रतिशत मत ल्याउन सकेका छैनन् । ३ प्रतिशत मत नल्याउने दलको समानुपातिक सिट आउँदैन । उनीहरुले पाएको मत थ्रेसहोल्ड कटाउने दललाई उनीहरुले पाएको मत प्रतिशतको अनुपातमा थपिन्छ । पछिल्लो अपडेटमा ३ प्रतिशत कटाएका ६ वटै दलले राष्ट्रिय दलको मान्यता पनि पाउने भएका छन् किनकि यी ६ वटै दलले प्रत्यक्षतर्फ पनि कम्तीमा एक सिट जित्नुपर्ने मापदण्ड पूरा गरेका छन् ।







डिसी नेपाल







Facebook Comment