मोदीको बधाईपछि बालेनको प्रतिक्रिया- नेपाल-भारत सम्बन्ध परिणाममुखी बन्ने छ

डिसी नेपाल
२६ फागुन २०८२ १९:०१
324
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आगामी दिनमा भारतसँगको सम्बन्ध थप सुदृढ र परिणामुखी हुने विश्वास व्यक्त गरेका छन्।

सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन र रास्वपाका सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी बधाई ज्ञापन गरेकोबारे फेसबुकमार्फत जानकारी गराएका थिए।

मोदीले फेसबुकमा आफूले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको उल्लेख गरेका थिए। नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि उनले प्रतिबद्धता समेत जनाएका थिए।

मोदीको यही पोस्टमा बालेनले धन्यवाद ज्ञापन गर्दै दुई देशको सम्बन्धनले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका हुन्। ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यु । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,’ बालेनले लेखेका छन्।

बालेनलाई रास्वपाले नेपालको प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ। बालेन प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतले पराजित गर्दै झापा-५ बाट निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.