विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने

डिसी नेपाल
२७ फागुन २०८२ १४:२०
28
Shares

काठमाडौं। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ।

नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले ले नेपाल न्यूज बैंकसँगको कुराकानीमा म्यादी प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएको जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरीको कार्यविधि अनुसार म्यादी प्रहरीलाई भेला गराई मौखिक रूपमा धन्यवाद दिइनेछ। ‘हामी भोलि उहाँहरूलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर बिदाइ गर्छौं। कार्यविधिअनुसार सबैलाई भेला गरेर मौखिक रूपमा पनि धन्यवाद दिने व्यवस्था गरिएको छ,’ उनले भने।

प्रवक्ता काफ्लेका अनुसार सम्भव भएसम्म कार्यक्रम आयोजना गरी विभिन्न स्थानका कार्यालय प्रमुखहरूको उपस्थितिमा सामूहिक फोटो खिच्ने तथा चियापान कार्यक्रमसमेत गरिनेछ।

उनले म्यादी प्रहरीहरूको कार्यसम्पादन प्रभावकारी रहेको उल्लेख गर्दै उनीहरूको सहयोग, अनुशासन र कर्तव्यनिष्ठाका कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताए।

‘उहाँहरूको सहयोग, साथ र समर्थनले नै अनुशासन कायम राख्दै कुनै ठूलो घटना बिना चुनावलाई शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न सफल भयौँ,’ काफ्लेले भने।

उनले निर्वाचन सफल बनाउन नेपाल प्रहरी का सदस्यहरू, अन्य सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी तथा नेपाल सरकार का विभिन्न निकायहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताए।

नेपाल प्रहरीका अनुसार देशभर सम्पन्न निर्वाचनका क्रममा १ लाख ३३ हजार ९ सय ३८ जना म्यादी प्रहरी परिचालन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.