ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
ढोरपाटन (बागलुङ)। बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ। ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ।
पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। उनका अनुसार सङ्क्रमित बिरामीको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ।
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँका स्थानीयमा त्रास फैलिएको बताउँदै घिमिरेले आवश्यक सचेतना अपनाउन सबैलाई आग्रह गर्नुभयो। कसैमा शङ्कास्पद लक्षण देखा परे तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै उनले सङ्क्रमण रोक्न खोप अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिए।
उनका अनुसार पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि इसकेको छ भने १४ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा स्वाब पठाइएको छ। दशदेखि २० वर्ष उमेर समूहका व्यक्तिमा शङ्कास्पद लक्षण देखिएको घिमिरेले बताए।
उनले भने, ‘शङ्कास्पद बिरामीको खोजी र उपचारलाई तीव्रता दिएका छौँ। बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा बिरामीहरूको उपचार भइरहेको छ, केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ।’
यही फागुन ८ गते गाउँका केही स्थानमा सङ्क्रमणको लक्षण देखिएपछि स्वास्थ्यकर्मी गाउँमा पुगेर खोजतलास गर्नुका साथै जोखिम पहिचान, सञ्चार तथा स्वास्थ्य सचेतना र उपचार तथा निगरानी बढाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए। यस क्षेत्रमा रहेका छ हजार ७६३ जनालाई दादुराविरुद्धको खोप लगाइने उनले बताए।
फागुन २९ गतेदेखि आगामी चैत्र १ गतेसम्म यहाँ दादुराविरुद्धको विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख शर्माले बताए। गाउँभरि सङ्क्रमण फैलिएपछि यस क्षेत्रका विद्यालसमेत बन्द गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ। रासस







डिसी नेपाल







Facebook Comment