मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते

डिसी नेपाल
२८ फागुन २०८२ ७:००
2.0k
Shares

हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका-१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकार स्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।

बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि साङ्घातिक हमला गरेका थिए।

हमलापछि प्रतिकार स्वरूप असई दिलबहादुर तामाङले एक राउन्ड गोली चलाएका थिए। उक्त गोली तितुङको कोखामा लागेर उनी घाइते भएका छन्। घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई तत्काल एम्बुलेन्समार्फत हेटौँडास्थित चुरे हिल अस्पताल ल्याइएको थियो। गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ भने घाइते प्रहरी असई तामाङको उपचार चुरे हिल अस्पतालमै भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् ।

घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको सुरक्षा टोली अस्पताल पुगेको थियो । टोलीले घाइते प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.