पुराना पार्टीहरुको भविष्य

कृष्ण बोहरा
२९ फागुन २०८२ ७:४४
72
Shares

भर्खरै सम्पन्न भएको आम निर्वाचनमा पुराना दलहरुलाई विस्थापित गर्दै रास्वपाले झन्डै दुईतिहाइको जनमत आफ्नो पोल्टामा पारेको छ। यसपछि पुराना दलका शीर्ष नेतृत्वसहित जिम्मेवार नेताहरुमा एक किसिमको छटपटी सुरु भएको छ।

यो छटपटी भित्र नयाँ नयाँ विचार नयाँ नयाँ तर्कहरूको बहस पनि सँगसँगै सुरु भइरहेको हामीले देखिरहेका छौं। कतिपय नेताहरू “हामी लडेका मात्रै हौं मरेका होइनौ फेरि उठ्नेछौं” पनि भनिरहनुभएको छ। “जीवनमा हार जित भइरहन्छ आत्तिनुपर्ने केही छैन” भन्ने र चित्त बुझाउने मेसो पनि चलिरहेकै छ।

“बिउ भएसम्म टुसा आउँछ” भनिरहनु भएको छ कोही। यी सबै कुराहरू आफैलाई चित्त बुझाउने र आफ्नाहरूलाई निराशाबाट बच्न दिइने उपचार मात्र हुन्। प्रमुख कुरो अब के होला पुरानो पार्टीहरू पुन फेरि उठ्न सम्भव होला कि नहोला? भन्ने सवाल महत्त्वपूर्ण सवाल हो। पार्टीका नेताहरू र लाखौं लाख कार्यकर्ताहरूको अबको बाटो के होला? त्यो नै आजको महत्वपूर्ण प्रश्न हो।

कतिपय पुराना नेता तथा कार्यकर्ताहरू, “विदेशी शक्तिहरूले चुनावमा जित्यो। अब अमेरिका र युरोपेली देशहरूले नेपालको भूमिमा खेल्नेछन्। भर्खरै भइरहेको अमेरिका इजरायलद्वारा इरानमा भएको हमलापछि इरानी हमलाका कारण पश्चिम एसियाको देशहरूको हविगतमा नेपाल पनि गुज्रिनेछ” भनी भनिरहेका छन्।

मानौं कि अहिले जितेर आउने रास्वपा नामको पार्टी पुरै अमेरिकाबाट सञ्चालित हो। आफूहरू भने खाट्टी राष्ट्रवादी र स्वदेशी शक्ति हो भन्ने कुराको प्रचार चुनावअघि र पछि पनि भइरहेकै छ। तपाईंलाई के लाग्छ? साँच्चै कुरो यस्तै हो त?

पुरानो सबै राष्ट्रवादी नयाँ सबै विदेशीका गोटी होला त यो कुरो? कसैको कुरामा बहकिने र धारणा बनाउनु अघि आफैले एकपटक गौर गरेर सोच्नु पनि आवश्यक होला नि। कुनै पनि कुरामा आफैले गरेको निर्क्यौल महत्वपूर्ण हुन जान्छ। कुनै पनि पार्टी र कुनै पनि शक्तिले प्रचार गरेका कुराहरु आफ्नो स्वार्थ हेरेर नै गरेका हुन्छन्।

सबैभन्दा पहिला आफैंले नै यसको निर्क्यौल गर्ने कोसिस गर्नुहोस्। के पुराना राष्ट्रवादी शक्ति भएर पनि देशको समस्या समाधान भएको थियो त? हरेक राजनीतिक मामलामा हाम्रा पुराना राजनीतिक नेताहरू बेला बेलामा विदेशी दूतावासमा गई छलफल गरेका र भोज खाएका उदाहरणहरु बाहिरीएका थिए।

भर्खरै आएको खबर अनुसार सुदन गुरुङ जो जेन्जी आन्दोलनका नेता पनि भनिएको छ। आफूले चुनाव जितेर आइसकेपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै ढोगेर पृथ्वीनारायण शाहलाई सम्मान गरेका छन्। पृथ्वीनारायण शाहलाई सम्मान गर्नु देशलाई सम्मान गर्नु हो।

किनकि नेपालको एकीकरण पृथ्वीनारायण शाहबाटै भएको हो। पृथ्वीनारायण शाहको स्वदेश नीति र विदेश नीति नेपालमा व्यवहारिक रुपमा लागू गर्ने हो भने पनि नेपालको भविष्य उज्ज्वल बन्ने कुरा निश्चित छ।

यसैले पृथ्वीपथलाई हामीले पनि सम्मान गर्नुपर्छ। यस मानेमा सुजन गुरुङ पनि राष्ट्रवादी युवा रहेछन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यस्तै रास्वपाका शिशिर खनालले हालैको बीबीसीसँगको एउटा अन्तर्वार्तामा नेपालको परराष्ट्र नीति सम्बन्धी केही कुरा बोल्नुभएको छ। उहाँका अनुसार, “नेपालको परराष्ट्र नीति हाम्रो संविधानमा उल्लेख भए अनुसार नै असंलग्न परराष्ट्र नीति अपनाइने छ।

“भारत चीन र अमेरिकासँग तथा अन्य राष्ट्रसँग नेपालको नीति कस्तो हुनेछ? भन्ने विषयमा उहाँको उत्तर एकदमै सन्तुलित छ। भविष्यमा के होला आजको अवस्थामा बाहिर अफवाह फैलाइए जस्तो रास्वपाले जितेपछि नेपालमा वैदेशिक हस्तक्षेप ह्वात्तै बढ्नेछ भन्ने जस्ता हल्लालाई यसले खण्डित गरेको छ।

नेपाली जनता परिवर्तन चाहन्छन्। यसैले नेपाली जनताले परिवर्तनकामी आन्दोलनहरूलाई जहिले पनि साथ दिएको छ। २००७ सालको आन्दोलन होस् वा २०४६ सालको पहिलो जन आन्दोलन र दोस्रो २०६२, ६३ को आन्दोलन मा समेत नेपाली जनताले साथ दिँदै आएको इतिहास छ।

यस्तै नयाँ गर्छु भन्ने जुनसुकै शक्तिलाई पनि बेलाबखत सत्तामा बहुमत पुग्ने गरी पठाएको संसदीय इतिहास छ। जस्तो कि २०१५ सालमा नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत जनताले दिएका थिए। पहिलो जनआन्दोलन २०४६ पछि बनेको संसदमा पनि नेपाली कांग्रेसलाई नै बहुमत दिइएको थियो।

२०५१ मा एमाले सबैभन्दा ठूलो पार्टी बन्यो यसैले अल्पमतको भएपनि सरकार बन्न सकेको थियो। यसैगरी २०६२ मा नेकपा माओवादीले बहुमत हासिल गर्न सफल भयो। सबै खालका पार्टीहरूको सरकार र सत्ता हेरेर वाक्क भएका जनताले यसपटक रास्वपा नाम गरेको नयाँ पार्टीलाई दुई तिहाईको नजिक पुर्‍याएका छन्।

यो पनि सधैँका लागि जनताले पत्याइदिनेछन् भन्ने कसैले पनि नसोचे हुन्छ। आजको अवस्था कति लामो समयसम्म जान्छ? भन्ने कुरा रास्वपा पार्टीले कसरी देशको वर्तमान समस्याहरूलाई सम्बोधन गर्दै जानेछ भन्ने कुरामा भर पर्छ।

नेपालका मात्र होइनन्। संसारभरिका जनता परिवर्तनलाई रुचाउँछन्। सकारात्मक परिवर्तन जसले देश र जनतालाई सकारात्मक किसिमले सेवा गरोस्। सबैको चाहना यही नै हो। यसैले सन१९९० सम्म आइपुग्दा संसारभरिबाट कम्युनिस्ट सत्ताको अवसानको स्थितिमा आइपुगेकाे सत्य थियो।तर नेपालमा जन नेता मदन भण्डारीले नयाँ विचार ल्याउनुभयो। यसलाई बहुदलीय जनवाद भनेर व्याख्या गरिन्छ।

यस विचारको सवालमा तत्कालीन विविध कम्युनिस्ट नेताहरूका विविध टिका टिप्पणी भएतापनि नेपाली जनताका लागि यो नयाँ थियो। मदन भण्डारीले भन्नुभयो, “हामी जुत्ताको नाप अनुसार खुट्टा काट्दैनौ बरु खुट्टाको नाप अनुसार जुत्ता बनाउँछौ।

सिद्धान्त सिद्धान्तको लागि होइन सिद्धान्त जीवनको लागि हो।” भन्ने उद्गार व्यक्त गर्नुभयो। उहाँको भाषण गर्ने शैली र नयाँ विचार बहुदलीय जनवादले नेपाली समाजमा निकै ठूलो प्रभाव पार्‍याे। टुँडिखेलको खुला मञ्चमा भाषण सुनेर पनि लाखौं लाख मानिसहरू कम्युनिस्टको पक्षमा र नेकपा एमालेको पक्षमा आबद्ध हुन्थे।

यो खालको गतिविधि विपक्षी विशेष गरेर नेपाली कांग्रेस गिरिजा समूहलाई निकै टाउको दुखाईको विषय बन्यो। उहाँ राष्ट्रियताको पक्षमा जोडदार रूपमा उभिने नेता पनि भएको कारण उहाँलाई देशी विदेशी शक्तिको मिलेमतोमा चितवनको दासढुंगामा षड्यन्त्रपूर्वक हत्या गरियो।

तैपनि नेपालको संसदीय चुनावमा जिल्ला जिल्लाबाट व्यापक रुपमा सूर्य उदाउन छोडेन। भद्र नेता पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको समयमा वृद्धवृद्धालाई दिएको सय रुपैयाँ भत्ता र आफ्नो गाउँ आफैं बनाउँ जस्ता कार्यक्रमले नेपाली समाजमा निकै राम्रो प्रभाव छोड्न सफल भयो।

पछिल्ला दिनहरूमा देशमा घुसखोरी भ्रष्टाचार र व्यथितिहरू ज्यादा बढ्न थाले। भएका व्यथितिहरूलाई पनि कम्युनिष्ट पार्टी सत्तामा आएतापनि यसले व्यथितिको विरुद्ध कुनै काम गर्न प्रयत्न समेत गरेन। यसपछि कम्युनिस्ट पार्टी होस् वा अन्य पार्टी कसैका पनि कुरा सुन्न जनताहरू नचाहने भए। तत्कालीन सात दलले गरेका आमसभाहरूमा मानिसहरू जम्मा हुन महामुस्किल भइसकेको थियो।

यसपछि राजा ज्ञानेन्द्रको मनोबल ज्यादा उठेको पाइन्छ। संवैधानिक राजतन्त्रबाट सक्रिय राजतन्त्रमा पाइला टेक्न लागेको त्यसबेलाको राजनीतिले पुन नयाँ मोड लियो। यसको कारण एउटै थियो। नेकपा माओवादीको जनयुद्धका कमाण्डर प्रचण्डले सात दलसँग गोप्य सम्झौता गरेका थिए। यसमा उहाँको भनाइ थियो, “तपाईंहरू राजा नभन्नुस्। म बहुदलीयतालाई स्वीकार गर्छु।” परिणाम सकारात्मक बन्यो।

जनतामा पुन रक्तसंचार भयो। अब भने सात दलको आमसभाहरूमा पून मानिसहरू भेला हुन थाले। दोस्रो जनआन्दोलनको सफलता नेकपा माओवादी र सात दलको गठजोटकै कारण सफल भएको थियो। यसैले जनता जहिले पनि परिवर्तन चाहन्छन्। यसपछि भएको संसदीय चुनावमा नेकपा माओवादीले अत्यधिक सिट जित्न सफल भएको थियो।

यसपछि पनि नेपाली जनतालाई कम्युनिस्टहरूको एकल बहुमत नपुगेर देशमा परिवर्तन सम्भव नभएको होला भन्ने लागिरहेकै थियो। किनकि विविध समूहमा बाँडिएका कम्युनिस्टहरूका आपसमा भोट काटिँदा जहिले पनि सरकार नेकाको नै बन्ने गर्थ्यो। नेपाली जनताको यो आशा जुन थियो त्यो २०७४ मा पूरा भयो।

नेकपा एमाले र नेकपा माओवादी मिलेर नेकपा भन्ने एउटा बलियो पार्टी बन्यो। यसमा झन्डै दुई तिहाई को सिट प्राप्त थियो। जनतामा यति ठूलो आशा थियो कि अब भ्रष्टाचार, घुसखोरीको अन्त्य हुनेछ। नेपालमै रोजगारी पाइनेछ। युवाहरू रोजगारीको खोजी गर्दै विदेशिनुपर्ने छैन भन्ने लागेको थियो।

तर नेकपाको बहुमतको सरकार राम्रोसँग चल्न सकेन। शीर्ष नेताहरूको अन्तर्विरोध र झगडाका कारण कुनै पनि काम हुन सकेन। यो झगडा जुङ्गाको लडाई र आफ्ना मान्छे राज्यका विभिन्न महत्वपूर्ण पदहरुमा आसिन गराउनको लागि थियो। नेपाली जनताले कम्युनिस्ट नाम गरेको पार्टीको यो रबैया आफ्नै आँखाले प्रत्यक्ष देखे। यसैले कम्युनिस्ट पार्टीबाट पनि जनतामा निराशा पैदा भएको अवस्था आयो।

स्थानीय निकायको चुनावमा हर्क साङपाङ, बालेन र गोपी हमालको उदयसँगै जनतामा नयाँ आशा पलायो। रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी नै दर्ता गरेपछि मानिसहरूको ध्यान त्यतातिर पनि खिचियो।

रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार भनी चुनावमा हाइलाइट गरेपछि बालेन्द्र शाह देशभरिको लागि एउटा ब्रान्ड बने। मानिसहरूले बालेन्द्र शाह र घन्टी चिन्हलाई मात्र हेरेर देशभरि भोट हालेको देखिन्छ। अब बालेन्द्र शाहको नेतृत्वमा झन्डै दुई तिहाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्ने कुरा पक्का पक्की छ।

अब पुराना पार्टीमा पनि कम्युनिष्ट पार्टीहरूको भविष्य के होला? यो कुरा महत्वपूर्ण र गम्भीर विषय हो। कम्युनिस्ट पार्टीले संसदबाट पनि कम्युनिस्टको शासन सत्ता हासिल गर्न सक्छ भन्ने जुन नयाँ प्रयोग मदन भण्डारीले गर्न खोज्नुभएको थियो? त्यो आफ्नै कारणले असफल साबित भएको छ।

अब हामीले राम्रो गर्नेछौ भनेर जनताले पत्याउने छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भविष्यमा गर्ने काम कारबाही, सरकार र सत्ता सञ्चालन गर्ने ढाँचा राम्रो नभएमा मात्र पुराना पार्टीहरू कांग्रेस र कम्युनिस्ट पार्टीहरूको पालो आउने हो। त्यो पनि हर्षले होइन विस्मतले दिने भोट हो। किनकि एउटा न एउटालाई त भोट नहाली हुँदैन। नो भोटको प्रावधान नभएपछि।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.