‘बाउको बिर्ता’ को सत्ता

शंकरप्रसाद रिजाल
१ चैत २०८२ ७:३१
64
Shares

कुनैपनि देशको राज्य सत्ता लोकतान्त्रिक हिसाबले चल्नु फिर्नु पर्दछ। आफूले दुई पटक सत्ता सम्हालेपछि आफू जस्तै अरु पार्टीका सक्षम नेताहरुलाई सत्ता सुम्पिने प्रथा पार्टीमा हुनु लोकतान्त्रिक विधि मानिन्छ। यो प्रथाको थालनीमा पार्टीका लोकतान्त्रिक नेता अत्त्यंत प्रजातान्त्रिक रहनु अति आबश्यक छ।

अन्यथा यो सत्ता कालान्तरमा गई नराम्रोसँग बिहीन हुने, पार्टी टुक्रा टुक्रा हुने, पार्टीमा बेमेलको भाबना उत्पन्न हुने भई राजनीतिमा अराजकता पैदा भई सम्पूर्ण राज्यले नै अति दुःख र कष्ट पाउने संसारको इतिहासले बताएको छ।

राजनीतिमा प्रायः एउटाको शासन सत्ता सुरुवात भएपछि निरन्तर उसको सारा परिवारले पालै पालो बाउको बिर्ता जस्तो गरी सत्ता सम्हाली रहने दुष्प्रवृत्तिले भारतमा नेहरु परिवारको बाउको बिर्ताको निरन्तर शासन शैलीले आखिरमा जवाहरलाल नेहरुको शासन सत्ता नष्ट, भ्रष्ट भई आज निमेष मात्र बाँकी रहेको भारतको राजनीतिक सत्तामा पाउँछौं। आज भाजपा सरकारले नरेन्द्र मोदीको सवल नेतृत्वमा शाशन गरिरहेको छ।

यहाँ पनि केही बर्ष पछि नेता परिबर्तन हुनै पर्दछ अन्यथा योपनि कालान्तरम त्यस्तै कारणबस लोप हुने प्रबल सम्भाबना देखिन्छ। किनकि सत्ताराज गर्ने तरिका बाउको बिर्ता जस्तो गरि राज गर्ने पक्कै होइन।

साम्यबादी र समाजबादी देशहरुमा एकै व्यक्ति नेताको रुपमा शासक बनिरहनु कुनै नौलो विषय होइन। किनकि यी देशहरुमा चुनाबको प्रक्रिया त्यत्ति प्रजातान्त्रिक रुपले चलाउने प्रक्रियानै हुँदैन।

जति पटक चुनाब भएपनि उही एक व्यक्तिको चयन भई नेता बनाउने कम्युनिस्ट व्यवस्थाको एक कला नै हो भन्ने कुरा मान्नु पर्दछ। त्यसैले त रुस, चीन, उत्तर कोरिया, क्युबा र अन्य कम्युनिस्ट देशहरुमा सधैं एकै शासक नेता बनी बसेको अनेकौं उदाहरण देखिन्छ।

तर प्रजातन्त्रको सत्ता राज गर्ने अनेक देशहरुमा चुनाबको नाउँमा अरबौं रकम खर्च गरी सधैं आफ्नो पोल्टोमा राज्य सत्ता हात पारी बाउको बिर्ता जस्तो गरी पचासौं बर्षसम्म अकन्टक राज गर्ने नेपालको कोइराला परिवारको सत्ता राज आखिरमा चोइटिएर गइ कांग्रेसको सत्ता नयाँ र पुराना नेताहरुको बेमेलमा करिब टुक्रिएर गएको हामीले पाएका छौं।

यो मिल्ने टुक्रिने खेलमा फेरि बिदेसी शक्तिको हात अबश्य रहेको हुन्छ। यस्तै शक्तिको हातमा परेर लाखौँ करोडौं खर्च गरी जनताको आँखामा छारो हाली एकै व्यक्ति निरन्तर सत्तामा टिकीरहनु दलगत स्वार्थको एक बलियो साँचो नै भयी सकेको छ।

तसर्थ यो कुरालाई समयमै बुझी अमेरिकाले कुनैपनि व्यक्ति राष्ट्रपतिमा जतिसुकै प्रख्यात र इमान्दार भएपनि बढीमा दुई छोटो भन्दा बढी राष्ट्रपतिमा उठ्नै नपाउने ब्यबस्था आफ्नो संबिधानमा राखेको छ।

यो अबधिमा बिजेता राष्ट्रपतिले आफ्नो स्वविवेकले आफ्नो देशको सुरक्षार्थ र आफ्नो देशको अर्थ र ब्यापारको ब्यबस्थापन गर्न आफ्नो सम्पूर्ण शक्ति प्रयोग
गर्न सक्नेछन्। उनको कार्यकाल पछि उनी पछि आउनेले फेरि अर्कै रणनीति अपनाउने छन्। यही हो प्रजातन्त्रको बिशेषता र मूल धर्म र कर्म।

सत्तामा एकै व्यक्तिको निरन्तरताले व्यक्तिलाई निरंकुुश बनाउने ठूलो सम्भाबना हुन्छ। यो भावना र कार्य कलाले देशमा नैराश्यता पैदा हुन्छ। नैराश्यताले जनता आन्दोलित हुन्छन् र आन्दोलनले सत्ताको डण्डा आखिरमा भाँचिएरै जान्छ। बिकल्पमा अर्को व्यक्ति सत्तामा आउँछ।

त्यसैले कसैलेपनि प्रजातान्त्रिक व्यवस्थामा सत्तालाई आफ्नो बाउको बिर्ताजस्तो नबनाउन र बेला-बेलामा नयाँ नेताको चयन गरी रहुन्। यसले राजनीतिमा निखार र स्वच्छता आउँछ।

२०६२-६३ पछि नेपालमा आएको संघीय लोकतान्त्रिक शासन व्यवस्थामा नेताहरुले सुरुदेखिनै शासन सत्ता कसरी चलाउने भन्ने बिषयमा अध्ययन नै नगरी हान थाप गरी आफूखुसी राज्य चलाउने र सत्तामा पुगेपछि बिपक्षी पार्टीहरुलाई टेरपुच्छर नलगाई मनमानी राज्य गर्ने प्रवृत्तिले गर्दा आज नेताहरुको धोती फुस्किएको छ।

आफ्नो बाउको बिर्ता जस्तो गरि राज्य चलाउने सम्पूर्ण नेताहरुको दुष्परिणामले गर्दा आज नेपाली जनताले नयाँ विकल्प खोजेका हुन्। देश कसैको बिर्ता होइन, यो विकास गर्ने सारा जनताको जिम्मेवारी रहन्छ।

पार्टीमा रहेका सारा पुराना नेताहरुले बिस्तारै नयाँ पुस्ताका व्यक्तिहरुलाई सत्ताको ज्ञान सम्झाई बुझाई उमेर पुगेपछि राजनीतिबाट आफू अलग्गिइ आफू त्यसको अभिभावक बनी सत्ता सुम्पिने काम गर्नु पर्दछ।

तर हाम्रा पार्टीका नेताहरु पचासौं बर्षसम्म पार्टीमा हालीमुहाली गरी बस्ने अप्रजातान्त्रिक प्रवृत्तिले गर्दा नेताहरुमा निरंकुशताको भाबना पैदा भइ नेपालमा बेला बेलामा भयानक आन्दोलन भई सत्तानै पल्टाउने काम हुन् गएको हालैको जेनजी आन्दोलनको घटनाले घाम झैं छर्लंग भएको छ।

त्यस कारण सत्तालाई आफ्नो बाउको बिर्ता जस्तो बनाउनेहरुको हालत आखिरमा नेपालका शिर्षस्थ नेताहरुको हालत जस्तै हुन् जाने निश्चित छ। उन्नति र प्रगति निरंकुशता र बर्बरता एकैनाश कसैकोपनि हुँदैन भन्ने आध्यात्मिक दर्शनले परापूर्व कालदेखि भनी आएको अपूर्व कथन हो। यसै सन्दर्भमा नेपालका प्रसिद्ध कवि शिरोमणि लेखनाथ पौडेलले सबै कुरा समेट्ने गरि एक कबिता प्रस्तुत गरेका छन् जुन यस प्रकार छ-

कसैको पनि देखिन्न एकैनास समुन्नती
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति

यो कविताको केवल दुई हरफ नेताहरु, सत्तामा बस्ने शासकहरूले मनन गरि सत्ता चलाउने गरेमा कसैलेपनि नेतालाई र शाशकलाई नदुत्कारने निश्चय छ। वास्तवमा एक छत्र राज्य गर्ने, जे मन लाग्यो त्यही गर्ने, हुकुमी शासन गर्ने र चलाउने काम निश्चयपनि राम्रो होइन।

आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजातान्त्रिक ब्यवस्था भई कुनैपनि देशका राष्ट्रपतिलाई एक्कासि अपहरण गरी आफ्नो देशमा बन्दी बनाएर उसको देशको उत्पादन भएको तेलमा आँखा गाडी जबर्जस्ती गर्नु अप्रजातान्त्रिक नै हो। यो उनको निरंकुशता कति दिनसम्म टिक्ने हो त्यो हेर्न बाँकी नै छ।

यसरी निरंकुशता बढ्दै जाने र एकाधिकारको सीमा बट्दै जाने र सत्तालाई आफ्नो बाउको बिर्ता जस्तो बनाउनेको भविष्य अवश्यपनि समुन्नतिको सट्टा एकदिन अवनती या जनताहरुबाट अपहेलित हुने प्रायः निश्चित नै जस्तो हुने हुनाले यसलाई कसैलेपनि अबमुल्यन नगर्नु राम्रो हुन्छ।

कसैले पनि आफ्नो धर्म छोडी काम गरेमा त्यसले उसलाई कुनै हालतमा पनि रक्षा गर्ने छैन। भनिन्छ, ‘”धर्मो रक्षति सर्बत्र” अर्थात धर्म पालनाले सबै ठाउँमा रक्षा गर्छ।

तसर्थ कसैले पनि कुनै चिज या सत्तालाई “बाउ बाजेको बिर्ता” या “मुलाको बारी” जस्तो बनाई त्यसमाथि अकन्टक राज्य संचालन गर्ने दुष्प्रयास कसैले नगरोस्। बिस्तारै छोड्दा हार हुँदैन बरु आफ्नो तन र मन हलुका हुँदै जान्छ जसले गर्दा मन शान्त र आनन्द भई आफू आफूमै हराइन्छ।


 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.