कविता : प्याला रित्तिएपछि भरिएकी म

पूजा आचार्य
२९ फागुन २०८२ १३:२८
40
Shares

तिमीले दिएको कफीको अन्तिम चुस्की लिँदैछु,
सँगै तिमीलाई पनि पिउँदैछु अन्तिम पटक
मैले तिमीमा हक जताएँ, र अनजानमै तिमीलाई दुखाएँ
कृष्णपक्षको जूनजस्तै तिमी बिस्तारै क्षितिजपारि ओझेल पर्दै गयौ
त्यसमा मेरो कुनै गुनासो छैन
सत्यलाई स्वीकार्दै, म तिमीलाई शान्त मनले शुभकामना दिन्छु
तिम्रो मुस्कान सधैँ गाढा रहिरहोस् मैले पिउने कफी जस्तै!

कफीका केही अवशेषहरू प्यालाको पिँधमा बसे जस्तै
तिम्रा यादहरू मेरो अन्तरहृदयमा बसिरहेका छन्,
प्याला पखाल्दा विलीन हुनेछ कफीको अस्तित्व,
तर तिम्रो स्मृति हटाउन मैले पर्खिनुपर्छ
थाहा छ मलाई
समयसँगै मेटिनेछन् यादहरू, पुरिनेछन् घाउहरू
एकदिन तिम्रो नाम पनि अपरिचित लाग्नेछ, र भरिनेछ प्याला फेरी नयाँ स्वादले!

तिम्रो न्यानो आश्वासनहरू,
तिमीले देखाएका सुनौला सपनाहरू,
संसार जित्ने अठोटहरु
मायाको त्यो सानु खेती, सबैको मैजारो भएको छ
सायद कफीको वाफसंगै उडेर गए बाचाहरु
शिशिरमा पहेलिएर झरेका पातहरु जस्तै झरे सपनाहरु,
अनि हावाको ठूलो झोका आएर उडाएर लग्यो आश्वासनहरू… फेरि नफर्किने गरी!

मायाको खेतीमा मैले तयार गरे मन र सिञ्चाएँ आँखा,
तिमीले बीउ छर्यौ तर निःसार, जुन कहिल्यै उम्रेन
अब मायाको बारी रिक्त छ कफीको प्याला जस्तै,
तर म भरिएको छु, र सिञ्चित छु, आफ्नै शक्तिले
मैले तिमीलाई गर्ने र तिमीले मलाई गर्ने माया जोडेर
म आफूले आफैंलाई अथाह प्रेम गर्दैछु
र अघि बढ्दैछु आफ्नै उज्यालोको साहारामा अनि बन्दैछु
आत्मविश्वासी, निर्भीक र परिवर्तनशील!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.