एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

डिसी नेपाल
३० फागुन २०८२ १६:१८
160
Shares

दमौली । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ। व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।

उक्त खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको उलले बताए।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ।

पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग सम्झौता भएको थियो। पाण्डेले भने, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ। थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ।” चालु आर्थिक वर्षभित्रै पुल निर्माण सकिने लक्ष्य राखिएको पाण्डेको भनाइ छ।

तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछ। पुलको वारिपारी दुई/दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ। उहाँका अनुसार फाउण्डेशनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ। उनले भने, “मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो। त्यसको काम भइरहेको छ।” रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ।

निर्माण कम्पनी अन्नक जेडआइष्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माण सकिने जानकारी दिए। उनका अनुसार असार १९ गतेसम्म म्याद रहेपनि सोभन्दाअगावै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ।

उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ। सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.