ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

डिसी नेपाल
३० फागुन २०८२ १८:०५
40
Shares

पाटन (ललितपुर)। ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ। ललितपुर-१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगरले निर्माण गरेको ‘ब्लक सी’ भवन सञ्चालनमा आएको हो।

महानगरका प्रमुख चिरीबाबु महर्जनले आज एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन्। यहाँबाट १२ नं वडा कार्यालयसँगै महानगरका दुईवटा महाशाखाले नगरवासीलाई सेवा दिने जानकारी दिए। ‘भवन निर्माणका क्रममा धेरै कठिनाइ उत्पन्न भए, मुद्दा मामिलादेखि जग्गाको भोगाधिकारसम्मका विषयलाई हामीले समाधान गरेर यो चरणसम्म सफलता हासिल गर्न सफल भयौँ’, उनले भने।

हालसम्म महानगरले तीन प्रशासनिक र २३ वटा अत्याधुनिक वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको जनाउँदै महानगरप्रमुख महर्जनले प्रविधिअनुसारको नागरिकमैत्री सेवा प्रवाहका लागि महानगर प्रयासरत रहेको बताए। उनले आगामी दिनमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अब वडा नं ५, ९, १४ र १६ सहित पाँचवटा वडा कार्यालय भवन निर्माण हुन बाँकी रहेको जानकारी गराउँदै ती भवन पनि यथाशीघ्र निर्माण गर्नेतर्फ महानगर केन्द्रित रहेको बताए। उनले वडा नं ५ को भवन निर्माणका लागि जग्गा प्राप्तिको कार्य सम्पन्न भइसकेको जानकारी गराए। सेवा प्रवाहको हिसाबले यो भवन नागरिकका लागि अत्यन्तै महत्वपूर्ण भएको भन्दै उनले धेरै कानुनी अवरोध सामना गर्दै समयमा भवन निर्माण सम्पन्न गरेर सेवा प्रवाह गर्ने अवस्थामा आएकामा खुसी व्यक्त गरे।

ललितपुरका जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले यो अत्याधुनिक भवन निर्माणले सुशासन कायम राख्दै सरकारी मूल्य मान्यता र स्वचालित सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले यहाँका सबै कर्मचारी तथा सरोकार भएका निकायले सुशासन कायम राखेर नागरिकलाई सेवा दिने र उपलब्धिमूलक नचिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए। उनले समुदायस्तरबाट ठूलाठूला मठमन्दिर निर्माण भएका स्मरण गर्दै महानगरले नागरिकको सेवामा गरेको पहल उदाहरणीय रहेको धारणा राखे।

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुर महानगरले उत्कृष्ट कार्य सम्पादन गर्नेतिर ध्यान दिएको र नागरिकको सेवाको सर्वोपरि हितलाई ध्यान दिँदै महानगरले आफ्नो कार्यहरू अगाडि बढाइरहेको जानकारी गराए। उनले विगतमा निर्माण भएका भवनहरु अहिले पर्याप्त नभएकाले सेवाग्राहीको सहजतालाई केन्द्रमा राखेर प्रशासनिक संरचना निर्माण गरिएको उल्लेख गरे।

दुई हजार २४४ दशमलव ४१ वर्गमिटर क्षेत्र रहेको छतले भवनको पहिलो तलामा वडा कार्यालय र त्यसभन्दा माथि महानगरका महाशाखाहरू सञ्चालनमा आउने जनाइएको छ। महागरको पूर्वाधार महाशाखा प्रमुख प्रदीप पौडेलले दिनुभएको जानकारीअनुसार २४ महिनाभित्र ११ करोड ९५ लाखमा निर्माण सम्पन्न हुनेगरी २०७९ असार १३ गते सम्झौता भएको उक्त भवन निर्माणका क्रममा विभिन्न कानुनी झमेलाका कारण पटकपटक म्याद थप गरी हालै निर्माण सम्पन्न भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.