समानुपातिकतर्फको सूची तय गर्न तीन दलको बैठक बस्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ। उपसभापति डिपी अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो। आजको बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि रास्वपाले निर्वाचन आयोगमा बुझाउने छ।
पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आजका लागि सारिएको हो। रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।
त्यस्तै, आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आज टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिकको नाम टुङ्गो लगाउन पत्र पठाएपछि नेकपाले पनि आज बैठक बसेर अन्तिम सूची तय गर्ने भएको हो। नेकपाको प्रत्यक्षतर्फ आठ सिट पाएको छ भने समानुपातिकमा नौ सिट मात्रै पाएको छ।
नेकपाले आजको बैठकमा निर्वाचन परिणामका विषयमा समेत छलफल हुने जनाइएको छ। नेकपाले समानुपातिकमा कुल आठ लाख ११ हजार ५७७ मत मात्रै पाएको थियो।







डिसी नेपाल







Facebook Comment