पाशुपत बृहत्-पदयात्रा र प्राज्ञिक उद्बोधन

डा. उमेशप्रसाद घिमिरे
१ चैत २०८२ १६:१८
40
Shares

काठमाडौं । ‘बृहत्-पाशुपत-पदयात्रा-२०८२’ का सम्बन्धमा-जनसमुदायलाई सुसूचित गराउने उद्देश्यले आयोजक पक्षले प्राज्ञिक उद्बोधन तथा पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गर्‍यो। जावलाखेलस्थित सत्संग भवनमा समायोजित उक्त कार्यक्रम पद‌यात्राका सङ्कल्पकर्ता तथा महेश संस्कृत गुरुकुलमू-का अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरिज्यूको अध्यक्षता एवम् नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यूको प्रमुखातिथ्यमा सम्पन्न भयो।

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय, नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, पद‌यात्रा मूल आयोजक समितिका संयोजक तथा सुप्रसिद्ध कथावाचक पं. कपिलदेव सुवेदी, प्रा.डा. भागवत ढकाल, अनुसन्धाता डा. भूपहरि पौडेल प्रा.डा. श्रीराम अधिकारी, डा. रामप्रसाद पौडेल, डा. वैकुण्ठ धिमिरे, डा. उमेश उमेश उपप्रा. घिमिरे उपप्रा. रोहिणीराज तिमल्सिना, अनुसन्धाता श्यामकृष्ण सुवेदी, वरिष्ठ पत्रकार युवराज घिमिरे, धार्मिक अभियन्ता पुष्पराज पुरुषलगायत विशिष्ट महानुभावको समुपस्थिति रहेको सो समारोहमा नेपालका प्रसिद्ध सञ्चार माध्यम‌को उल्लेख्य सह‌भागिता रह्यो।

समारोहमा चतुषष्टी (६४) सिद्ध‌लिङ्गका शास्त्रीय तथा स्थलगत अध्ययन गरेका अनुसन्धाता तथा उक्त पद‌यात्राका सचिव श्यामकृष्ण सुवेदीले काठमाडौं उपत्यका लगायत वाग्मती प्रदेशका १० जिल्लामा अवस्थित सिद्धस्थल तथा ज्योतिर्लिङ्गहरूको पावरप्वाइन्ट प्रिजिन्टेसनका माध्यमले सचित्र लिङ्ग, मन्दिरस्थल र आदिलिङ्ग कुशेश्वरदेखि शुभारम्भ हुने १००० किलोमिटर (अनुमानित) को पैदलयात्राको रूटका बारेमा जानकारी गराउनु भएको थियो।

पाशुपत पदयात्राका संयोजक आचार्य श्रीकपिलदेव सुवेदीले नेपाल, भारत र वर्माका अनेकौं सिद्धपीठका साधुसन्त, धर्माचार्य तथा सयौँ श्रद्धालुहरूको सामू‌हिक सहभागिता रहने यस पदयात्रामा सहभागी बनी आध्यात्मिक लाभ लिनका लागि समस्त नेपालीलाई आयोजकका तर्फबाट आह्वान गर्नुभएको थियो।

विश्वभरका हिन्दूहरुका लागि प्रमुख आराध्यदेवका रूपमा पशुपतिनाथको प्रचार-प्रसार गरी आध्यात्मिक एवम् धार्मिक पर्यटनको विस्तारमा समेत यस पद‌यात्राले महत्त्वपूर्ण योगदान पुर्याउने विचार सुवेदीको थियो। समारोहमा विशिष्ट अतिथि पूर्वसचिव भीमप्रसाद उपाध्यायज्यूले सन्तमहात्माको सत्सङ्कल्पमा स‌मायोजित नेपालको कीर्ति विश्वसामु फैल्याउने र धर्मराज्यका रूपमा नेपाललाई पुनःस्थापित गर्ने पावन उद्देश्यका साथ आयोजना हुन लागेको ‘पाशुपत परिक्रमा’ मा सबैलाई यथासम्भव स्थलमा सह‌भागिता जनाउन आग्रह गर्दै आफू पनि यस अभियानमा शारीरिक, वाचिक, मानसिक रूपमा जोडिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी अर्का विशिष्ट अतिथि प्रा.डा. मुकुन्दप्रसाद लामिछानेज्यूले देवभूमि, तपोभूमि, ज्ञानभूमि नेपालका राष्ट्र‌देव पशुपतिनाथ समक्ष क्षमायाचनापूर्वक राष्ट्र‌मा स्थायित्व, राष्ट्रिय एकता र धर्मराज्यको स्थापनार्थ ६४ सिद्धलिङ्गहरूको पूजन एवं अनुष्ठान सहित आयोजना हुन लागेको ‘बृहत् पाशुपत पदयात्रा’ सन्तको सत्सङ्क‌ल्प भएकाले यसलाई भव्यताका साथ सम्पन्न गर्न समस्त जनसमुदाय स्थानीय सरकार तथा नेपाल सरकारले आ आफ्ना स्थानबाट समन्वय तथा सहयोग गर्न अपिल गर्नु भयो।

समारोहमा प्रमुख अतिथि तथा प्रमुख उद्बोधकका रूपमा समुपस्थित नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू‌ले स्वामी रमणानन्द गिरिज्यूको पावन सङ्‌कल्पमा केही महिना अघि ५०० बढी किलोमिटर क्षेत्रको ‘काली गण्डकी पदयात्रा’ अत्यन्त भव्यताका साथ सम्पन्न भइसकेको र उहाँकै सङ्कल्पमा आयोजना हुन लागेको ‘बृहत्-पाशुपत पदयात्रा’ लाई भव्यताका साथ सम्पन्न हुने पूर्ण विश्वास गर्दै यस पाशुपत परिक्रममा यथाशक्य आफू पनि सहभागी हुने प्रतिबद्धता जनाउँदै समस्त शिवभक्त श्रद्धालु महानुभावलाई उदारमता भाएर सहयोग गर्न र पायकपर्ने तीर्थस्थलमा सह‌भागी भई पद‌यात्री साधुसन्त-भक्तजनलाई स्वागत सत्कार गर्न समेत आह्वान गर्नुभयो।

पद‌यात्राका परिकल्पनाकार एवम् समारोहका सभाध्यक्ष रमणानद स्वामीज्यूले राष्ट्र‌देव समक्ष क्षमायाचना गर्दै राष्ट्रका सबै अभिशापबाट मुक्तिको प्रार्थना गर्न ‘बृहत् पद‌यात्रा-२०८२’ आरम्भ गरिएको जानकारी दिनुभयो।

विरूपाक्ष र नेमुनिले गरेजस्तै पैदलै पैदल ६४ सिद्धस्थलको दर्शन, धर्मसभा, धर्मराज्य स्थापनाको उद्घोष गर्दै अघि बढ्ने यस राष्ट्रियस्तरको धार्मिक पद‌यात्रामा सबै श्रद्धालु सनातनी महानुभावलाई सह‌भागिताका लागि आह्वान गर्नुभयो।

चैत-१५ गते पशुपतिमा समुद्‌घाटन तथा विशेषपूजन एवम् वाग्मती गङ्गाको आरती गर्दै निस्किएको पद‌यात्राको शुभारम्भ भने आदिलिङ्ग कुशेश्वरको पूजा-अर्चनाबाट हुने जानकारी दिँदै राष्ट्रदेव पशुपतिनाथको आराधनामा हिन्दु, किराँत, बौद्ध सबै धर्मावलम्बी तथा सवै सम्प्रदाय वा पन्थका अध्यात्मानुरागी नेपालीलाई यस महाअभियानमा सहभागी बन्न प्रेरणा दिनुभएको थियो। उनका अनुसार जैनहरूका आदिनाथ, बौद्धहरूका अवलोकितेश्वर, किराँतीहरूका पारूहाङ र नाथहरूका गोरखनाथ पनि श्रीपशुपतिनाथ (महादेव) नै हुनुहुन्छ।

प्रस्तुत ‘प्राज्ञिक उद्बोधन तथा पत्रकार साक्षात्कार’ कार्यक्रमको सहजीकरण महेश छात्र परिषद्का अध्यक्ष डा. उमेशप्रसाद घिमिरेले गर्नुभएको थियो। घिमिरेका अनुसार १६ गतेदेखि हुने यो पदयात्रा तथा ६४ सिद्धलिङ्गको पूर्ण दर्शन लगभग ३५ देखि ४० दिन सम्ममा हुने छ।

६४ सिद्धज्योतिर्लिङ्गहरू :

१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली
२. भीमेश्वर महादेव, दोलखा
३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक
४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक
५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक
६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक
९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक
१०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक
११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर
१२. तिलेश्वर महादेव, लेले, ललितपुर
१३. चम्पकेश्वर महादेव, लेले, ललितपुर
१४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर
१५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर
१६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर
१७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ
१८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ
१९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर
२०. उन्मत्तेश्वर महादेव, टिस्टिङ, मकवानपुर
२१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर
२३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर
२४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर
२५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ
२६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट
२७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट
२८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट
२९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ
३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ
३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ
३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ
३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ
३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ
३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर
३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर
३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर
३८. वाल्मीकेश्वर महादेव, भक्तपुर
३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर
४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर
४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर
४२. विश्वरूपेश्वर महादेव, भक्तपुर
४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर
४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर
४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर
४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर
४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर
४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर
४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ
५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ
५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ
५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ
५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ
५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ
५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ
५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ
५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ
५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ
५९. जलेश्वर महादेव, पशुपति, काठमाडौँ
६०. गुह्येश्वर महादेव, गुह्येश्वरी, काठमाडौँ
६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ
६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ
६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ
६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.