हर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धन बनाउन ट्रम्पको पहल
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन्।
उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन्। राष्ट्रपति ट्रम्पले आइतबार दिएको अभिव्यक्तिमा ती देशहरूको नाम भने खुलाएका छैनन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै विश्वका धेरै मुलुकले तेल आपूर्ति गर्ने प्रमुख मार्ग भएकाले हर्मुज मार्गको सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने र त्यसमा अमेरिकाले सहयोग गर्ने बताएका छन्।
“हर्मुज मार्ग हुँदै तेल प्राप्त गर्ने विश्वका देशहरूले उक्त मार्गको सुरक्षा गर्नुपर्छ, र अमेरिकाले त्यसमा ठूलो सहयोग गर्नेछ,” ट्रम्पले पोस्टमा लेखेका छन्। साथै उनले सम्बन्धित देशहरूसँग समन्वय गरेर जहाजहरूको आवतजावत सहज बनाउने उल्लेख गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रीट जर्नलको एक रिपोर्टका अनुसार ट्रम्प प्रशासनले विभिन्न देशको सहमतिमा हर्मुज जल मार्गमा जहाजहरूको सुरक्षाका लागि गठबन्धन गठन गर्ने योजना बनाइरहेको छ। अमेरिकी अधिकारीहरूका अनुसार यो अभियान इरानविरुद्ध सम्भावित सैन्य कारबाही अघि वा पछि सुरु गर्ने विषयमा अझै छलफल भइरहेको छ। हर्मुज मार्ग विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ। विश्वमा कारोबार हुने कच्चा तेलको करिब २० प्रतिशत यही मार्ग हुँदै ओसारपसार हुने अनुमान गरिएको छ। हाल मध्यपूर्वमा बढ्दो तनावका कारण यस मार्गको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको छ।
यता बेलायतका प्रधानमन्त्री केइर स्ट्रारर्मरले पनि आइतबार ट्रम्पसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वको अवस्थाबारे छलफल गरेका छन्। बेलायती प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार वार्तामा हर्मुज जलडमरू बन्द हुँदा विश्वव्यापी ढुवानी र व्यापारमा परेको असरबारे छलफल भएको थियो।
स्टार्मरले विश्वव्यापी ढुवानी सहज बनाउन र बढ्दो लागत कम गर्न उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउनु अत्यन्त आवश्यक रहेको बताएका छन्। दुबै नेताले क्षेत्रीय अवस्थाबारे निरन्तर सम्पर्कमा रहने सहमति पनि गरेका छन्।
यसअघि बेलायतका ऊर्जा मन्त्री एड मिलबन्दले पनि हर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउन विभिन्न विकल्पहरूबारे बेलायतले आफ्ना सहयोगी देशहरूसँग छलफल गरिरहेको बताएका थिए। उनका अनुसार द्वन्द अन्त्य गर्नु नै जलडमरू पुनः खुलाउने सबैभन्दा प्रभावकारी उपाय हो।
यता अष्ट्रेलियाले भने तेल बोकेका ट्यांकरहरूको सुरक्षाका लागि हर्मुजमा नौसैनिक जहाज नपठाउने स्पष्ट पारेको छ। अष्ट्रेलियाकी पूर्वाधार तथा यातायात मन्त्री क्याथरिन किङले सोमबार दिएको अभिव्यक्तिमा अष्ट्रेलियाले सो क्षेत्रमा सैन्य जहाज नपठाउने बताएकी हुन्।







डिसी नेपाल







Facebook Comment