पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा
मलेखु (धादिङ) । पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विशेष सक्रियता देखाएको छ।
विशेषगरी क्षमताभन्दा बढी र असुरक्षित तवरले सामान ढुवानी गर्ने अर्थात् ‘ओभर लोड’ बोकेका सवारीसाधनका कारण जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमनमा कडाइ गरेको हो।
गजुरी क्षेत्रबाट मात्र दैनिक २० भन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन्। आज बिहान गजुरी गाउँपालिकास्थित घाटबेँसी नजिकै भएको सवारी जाँचमा नियमविपरीत ओभर लोड बोक्ने १५ भन्दा धेरै सवारी चालकलाई जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए।
थापाका अनुसार सवारीको अवस्था ठिक नभएका, नम्बर प्लेट छोपिने गरी सामान लोड गरेका र असुरक्षित रूपमा सामान बोकेका सवारी चालकलाई कारबाहीको दायरामा ल्याइएको हो।
यातायात व्यवस्था ऐनअनुसार तोकिएको भन्दा बढी भार बोक्न वा सवारीको ‘बडी’भन्दा बाहिर सामान निकाल्न पाइँदैन। यस्तो कसुर गर्ने सवारीलाई ट्राफिक प्रहरीले घटनास्थलमै जरिवाना गर्न सक्ने प्रावधान छ।
पटकपटक गल्ती दोहोर्याएमा चालकको अनुमतिपत्र नै निलम्बनसम्मको गर्न सकिने व्यवस्था छ। रासस







डिसी नेपाल







Facebook Comment