निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति

डिसी नेपाल
३ चैत २०८२ ९:५०
48
Shares

काठमाडौं। निर्वाचन आयोगले एक टेलिभिजन कार्यक्रममा आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले सोमबार विज्ञप्ति गर्दै चैत १ गते कान्तिपुर टेलिभिजनमा प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाएको हो।

आयोगका अनुसार उसले गर्ने सबै निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार हुँदै आएको छ। आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अभिलेखमा अद्यावधिक गर्दा पनि सोही कानुनी आधारमा निर्णय गरिएको जनाएको छ।

विज्ञप्तिमा आयोगले उक्त निर्णयलाई सार्वजनिक सञ्चार माध्यममा अन्यथा अर्थ लगाएर टिप्पणी गर्नु विधिसम्मत नहुने उल्लेख गरेको छ। आयोगले असन्तुष्ट पक्षलाई कानुनी उपचार खोज्ने अधिकार रहेको र यस विषयमा परेको रिट निवेदनलाई सर्वोच्च अदालत नेपालले परीक्षण गर्ने बताएको छ।

आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले संवैधानिक निकायको निर्णय तथा अदालतमा विचाराधीन विषयमा निराधार टिप्पणी नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। साथै आयोगले आफ्ना काम कारबाहीबारे फैलाइएका कपोलकल्पित तथा निराधार विषयमा विश्वास नगर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.