इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
सुर्खेत। बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ।
विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासँग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन्।
उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए।
‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन्।’
सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ।
ती युवाहरूले दिएको बयान सत्य हो या झूटो भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ ती अधिकृतले बताए। घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगन्जबाट पोलिग्राफको टोली पनि खटिएको छ। उक्त पोलिग्राफले सही वा झूटो बोलेको कुरा पत्ता लगाउँछ।
घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए। घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको र फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको बुढथापाले बताए।
उनले भने, ‘अभियुक्रहरुको बयान सकियो। फरेन्सिक रिपोर्टहरू आउन बाँकी छ रिपोर्ट आएपछि अनुसन्धान निष्कर्षमा पुग्छ।’
अनुसन्धानमा कुनै कमी नरहने गरी सूक्ष्म र वैज्ञानिक तरिकाले अनुसन्धान भइरहेको पनि उनले बताए।
सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन्।
इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको छ। मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन्। सुर्खेत गुर्भाकोट बडा खाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्।







डिसी नेपाल







Facebook Comment