रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले

डिसी नेपाल
३ चैत २०८२ १३:५९
100
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन्।

उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ। १८४ सिट प्राविधिक कारणले पुगेन। एक दुई सिटबारे स्पष्ट हुँदै जाला। तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात ४८ प्रतिशत भोट हासिल गरेका छौं। यो जनादेश, मतादेश जे भने पनि असाध्यै गरुङ्गो वैधता लिएका छौं र त्यसलाई सम्हालेर वा जोगाएर यो आशा भरोसालाई निभाएर त्यो ऐतिहासिक बोध हामीले लिनुपर्छ।’

उनले सांसदको मूख्य भूमिका कानुन बनाउने भएपनि आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्ने र सरकारलाई खवरदारी गर्नु रहेको बताए।

‘हामी विधायक सांसदको भूमिकामा छौं, सांसदको मूल काम के हो? के गर्ने हुने? के गर्न नहुने ? सहायक काम के हो? बुझ्न जरुरी छ विज्ञहरुले प्रष्ट पार्नुहुन्छ, मूल काम हामी कानुन बनाउन आएको हौैं र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने वाच डग हौं, हाम्रै सरकार बनेपनि औंला उठाउनु, खवरदारी गर्नुपर्छ। आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्नुपर्छ र उहाँहरुको मुद्दाहरु बुलन्द रुपमा उठाउनुपर्छ,’ उनले भने।

यस्तै, रास्वपाका केन्द्रिय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरुले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको बताए।

‘अघिल्लो पटकको सदनमा रास्वपाका सांसदहरुले सकेसम्म सबै प्रयासहरु गरे तर त्यतिवेला संख्याको अपुग भयो र सोचे जस्तो डेलिभरी गर्न सकेनौं। हाम्रा छोराछोरीहरु देशमा सुशासन भएन, भष्ट्राचार भयो, हामीहरुलाई बस्न लायक देश बनाइदिनु भनेर स्कुलको लुगामा झोला बोकेर सडकमा निस्किए। हाम्रो संख्या पुगेको भए ति छोराछोरी स्कुलमा रमाउने थिए,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.