नेपालमा आएको ठूलो राजनीतिक परिवर्तनलाई सबैले आत्मसाथ गरौं : पूर्वराष्ट्रपति यादव

डिसी नेपाल
३ चैत २०८२ १७:५५
20
Shares

काठमाडौं । आज पत्रकार तथा लेखक विपुल पोखरेलको ‘सङ्कल्पन’नामक पुस्तक सार्वजनिक गरिएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको उपस्थितिमा ‘सङ्कल्पन’नामक पुस्तक विमोचन गरिएको हो।

पुस्तक विमोचन पछि यादवले वर्तमान समयलाई डिजिटल युगको रूपमा व्याख्या गर्दै नेपालमा आएको ठूलो राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘आज हामी अर्को युगमा छौं, डिजिटल युगमा प्रवेश गरिसकेका छौं। यति ठूलो परिवर्तन आएको छ। लामो समयपछि नेपालमा कुनै एक दलले फेरि दुई तिहाइ बहुमत प्राप्त गरेको छ। म शुभकामना दिन चाहन्छु, तर यो दुई तिहाइ बहुमत विगतमा जस्तै खेर नजाओस्।’

यादवले जनताले ल्याएको परिवर्तनलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलले सहकार्य गर्नुपर्ने बताए।

आफ्नो पार्टी पराजित हुँदा दुःख लाग्ने स्वाभाविक भए पनि समग्र परिवर्तनलाई आत्मसाथ गर्नु आवश्यक रहेको उनको भनाइ थियो। ‘आफ्नो पार्टीले हार्दा मन त दुख्छ। तर यो परिवर्तनमा सबैले आत्मासाथ गर्नुपर्छ। यो नेपालीको लागि, लोकतन्त्रको लागि, संघीयता समावेशीको लागि, समानुपातिकको लागि, धर्मनिरपेक्षताको लागि जुन संविधान ल्याएको छौं। अहिले निर्वाचित भएर आएकोहरुले देश बनाउको लागि यो संविधानलाई रक्षार्थ पालना गरेर अगाडि बढ्नुपर्छ। त्यो भित्र सारा कुरा छ। विधिको शासन अनुसार अगाडि बढ्न उहाँहरुलाई शुभकामना छ।’

उनले वर्तमान संविधानको महत्व उल्लेख गर्दै लोकतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा धर्मनिरपेक्षताको संरक्षण गर्नुपर्ने बताए।

साथै, निर्वाचित प्रतिनिधिहरूले विधिको शासनअनुसार संविधानको रक्षा गर्दै देश निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए।
उनले पोखरेलको पुस्तक पठनीय रहेको भन्दै इतिहासकार, राजनीतिज्ञ, पत्रकार, समाज निर्मातादेखि हरेकको लागि उत्तिकै महत्वपूर्ण रहेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.