रक्तिम रमादान र इरानको सफल प्रतिरोध के हुनसक्छ?

यक्ष दाहाल
४ चैत २०८२ ११:०१
184
Shares

इस्लाम सनातनी पात्रोमा नवौं महिनाको प्रतिपदामा जब आकासमा चन्द्रमाको पातलो बक्रको दर्शन हुन्छ, तव रमादान ब्रतको सुरुवात हुन्छ।

सनातनि पात्रोमा जस्तो सूर्य, चन्द्र, ग्रह, र नक्षत्र अनी अधिकमास जस्तो खगोलिय गणना नगरी, सिधै चन्द्रमाको दिन गनेर पर्व मनाइने हुनाले, प्रत्येक बर्ष रमादान करिब ११ देखि १२ दिन अगाडि सर्दछ।

यो वर्ष रमादानको सुरुवात बैदिक सनातनी पात्रो अनुसार साल २०८२ फाल्गुणको ५ अर्थात इश्वी सम्वत २०२६ फेब्रुअरीको १७ मा सुरु भयो। एक महिनाको यो ब्रत पुन: औषिको दिन समाप्त हुनेछ, अर्थात चैत्र महिनाको पाँच गते तदनुसार इश्वी सम्वत मार्च १७, बिहिबारको दिन ढलेपछि समाप्त हुनेछ।

मुसलमानहरुले निराकार र अदृश्य शक्ति (अल्लाह)ले पृथ्वीमा जीवन चलायामान राखेको र त्यही शक्तिलाई सर्बोच्च ठानी आफूलाई उसैमा समाहित गर्नुलाई इस्लाम भन्दछन्। यो समाहित हुन नैतिक र मानसिक बल चाहिने हुनाले उनीहरुले रमादान जस्तो ब्रत र प्रत्येक दिन नियमित नवाज पढ्ने गर्दछन्।

रमादान भरि मुसलमानहरुले सूर्योदयदेखि सूर्यास्तसम्म कठोर निराहार र निर्जल ब्रत बस्नु पर्ने हुन्छ। साथै महिनाभर नरिसाउने, पवित्र बस्ने, व्यभिचारबाट टाढा रहने, मनोरञ्जनमा ध्यान नदिने, टिभी र इन्टरनेटबाट टाढा रहने, सकेको सहयोग गर्ने र सके पाँच पटकसम्म आफ्नो भगवानको भक्ति गरेर नवाज पढ्ने कार्य गर्दछन् जसले उनीहरुलाई सकारात्मक, आस्तिक, र कर्मशिल बन्न सहयोग गर्दछ।

यसरी महिना दिन बितेपछि ब्रतको सफलतामा इदको महोत्सव मनाई खुसी आदानप्रदान गर्दछन्। ब्रतभरिको त्यो समयमा कसैको चित्त दुखाउनु, हत्या गर्नु, आतंकित पार्नु, र प्रतिशोध साध्नु पनि त्यतिकै बर्जित छ जती मनोरञ्जन गर्नु र खुसियाली मनाउनु।

इरानमा पनि हालसालै भएको आन्दोलनमा ज्यान गुमाएको आफन्त र परिवारको सदस्यलाई भुलाउदै राष्ट्रब्यापी रुपमा रमादानको सुरुवात भयो। यो ब्रतको सुरुवात अत्यन्तै शान्त र स्थिर सुरु भएको थियो। सरकार र जनता बीचको तिक्तता एक महिना रोकिएको थियो। सायद महिना दिनपछि ठूलो दंगाको रुपमा पून: भट्किँदैथियो।

उता योजना अनुरुप दंगा नभट्किएको र सत्ता परिवर्तन हुने छाट नदेखिएकोमा इजरायल-अमेरिकी गठबन्धन अचम्मित थिए। उनीहरुले रमादानको प्रभाव बुझ्न सकेको थिएनन्। इरानी सरकारसँग आणविक शुद्धता रोक्न वार्ता लम्बाउनुको कारण सत्ता परिवर्तनको लागि समय किन्नु थियो, तर सत्ता परिवर्तनको अस्त्रले काम गरेको छाँटकाट समेत देखिएको थिएन।

इरानमा इण्टरनेटको प्रतिबन्धसँगै त्यहाँको अवस्था बुझ्न पनि सकिइरहेको स्थिति थिएन। अझ, सरकारले देशब्यापी रुपमा बिद्यूतीय सञ्चार कटौती गर्दासमेत बिरोध नदेखिएपछि, योजनाले काम नगरेकोमा अमेरिका इजरायल आजित भएका थिए।

त्यसैको बिकल्प स्वरुप यदि इरानको कुनै मूख्य अधिकारीको हत्या गर्न सके गत बर्ष झै इरान रिसले भएभरको मिसाएल हान्ने र उसको भण्डार सिध्याउने र बदलामा भीषण आक्रमण गरी परास्त पर्ने र आफू अनुरुपको सरकार प्रतिस्थापन गर्ने रणनीति तयार भयाे।

कुनै समयमा मदमस्त शक्तिको घमण्डले चुर राष्ट्रहरु होर्मुजको नाकाबन्दीले आत्तिएर ढोका अगाडि आइपुगेको आर्थिक संकट देखेर छटपटाइरहेका छन्। मानौं रक्ताम्मे इरानले आफू जलेरै पनि यूद्ध जितिसकेको छ। यसैलाई नियतिको खेल भन्दछन्।

अन्ततगोत्वा योजना अनुसार वार्ताको बीचैमा सपरिवार ब्रत बसिरहेका छयासी बर्षे बृद्ध धार्मिक नेता खमेनीको घरमा टमहक मिसायलहरु प्रहार गरी हत्या गरियो। त्यो क्रममा परिवारका सोझा सदस्य मात्र हैन, स्कूले कलिला बालिकाहरु र सर्वसाधारणहरुले पनि ज्यान गुमाए।

तर यसपटक भने इरानी जनता र सरकारले आक्रोश देखाएन, न कुनै दूखी भावना। जासुसी गरेको आरोपमा पत्रकार मार्ने, आन्दोलन गरेको झोकमा गोलीको बर्सा गर्ने, गतसाल मन्त्री मारिँदा अन्धाधुन्ध लामो दूरीको मिसायल इजराईली आवादीमा छोड्ने इरानले यस पटक भने सुरुमा कुनै प्रतिकृया देखाएन।

जबकि उनीहरु रणनैतिक तरिकाले तयार भैसकेका थिए। ड्रोन र मिसायल पनि अत्याधिक थियो। तरपनि इरानी हौसिएनन्, साना दूरीका मिसायल र सस्तो ड्रोनको प्रयोग गरी अमेरिकी बेस र इजरायली सैनिक क्याम्पमा हानेर प्रतिरक्षा गरिरहे, युद्ध लम्बाइ रहे।

युद्धमा अमेरिका, इजरायल, र छिमेकका अमेरिकी बेसलाई प्रहार गर्दा इन्टरसेप्टरबाट उछिट्टिएको टुक्राले ज्यान गए पनि प्रत्यक्ष ज्यान मार्ने उद्देश्यले हतियार चलाएको देखिएन। युद्ध बिशेषज्ञहरुले भने जस्तो यो इरानको एसिमेट्रिक युद्धकलाको प्रयोग थिएन, रमादानको ब्रतमा हत्या गर्नु हराम भन्ने मान्यता थियो।

यसरी ब्रतको प्रभावले इरानी सेनालाई सम्यमता प्राप्त भयो र धैर्यताको हतियारले इरानले आधा युद्ध जित्न सफल झैं भयो। अझ आफ्नो धेरै र शक्तिशाली हतियार खपत हुनबाट पनि बचायो।

आज अमेरिकाको संसद मै यो युद्धको बिरोध हुन थालेको छ। रावणको दरवारमा बिभिषण बोलेर मनोबल गिराए झैं भएको छ रिपब्लिकनको कार्यालय। आरोप र प्रत्यारोप सुरु भएको छ, पूर्व सेना प्रमुखहरु रुष्ट भएका छन्। उता बिश्वका सम्पूर्ण देशहरू इरानको पक्षमा हुँदैछन्।

नजिकका अरब राष्ट्रहरु पनि सहयोगका भावना इरानप्रति नै राख्दैछन् भने अमेरिकालाई भूमि प्रयोग नगर्न दवाव दिँदैछन्। उता नेटो भनिने आफैंले तयार पारेको शक्ति गठबन्धनका राष्ट्रहरु सहयोगको याचनालाई खारेज गर्दैछन्।

कुनै समयमा मदमस्त शक्तिको घमण्डले चुर राष्ट्रहरु होर्मुजको नाकाबन्दीले आत्तिएर ढोका अगाडि आइपुगेको आर्थिक संकट देखेर छटपटाइरहेका छन्। मानौं रक्ताम्मे इरानले आफू जलेरै पनि यूद्ध जितिसकेको छ। यसैलाई नियतिको खेल भन्दछन्।

रमादान सकिन अब एकदिन मात्र बाँकी छ। यदि बिगतको एक महिना बिर्सेर इरानले हौसिएर जीतको घमण्ड र शक्तिको मातले चुर भइ आक्रमण गर्न थाल्यो भने हार अवश्यमयी छ। तर नियतिको खेलबाट संयमता सिकेर यो युद्धलाई लम्ब्याई रहन सक्यो भने जीत सायद उसैको हुनेछ। यो बिश्वमा सुषुप्त रहेको एउटा राष्ट्रले आफ्नो गुमेको सम्मान पुन हासिल गर्नेछ।

आस्थाको युद्ध

अदृश्य शक्तिप्रतिको आस्था आआफानो भावना, भोगाइ र वातावरणले निर्धारित गर्ने गर्दछ। सबैले आस्थाको सवालमा “म ठीक” भने पनि कसरी ठीक भनेर प्रमाणित गर्न भने सक्दैनन्। सभ्यताको प्रारम्भमा मानवहरु प्राकृतिक बिपदाको रोकथाम होस् भनी त्यही बिपदालाई अनुनय बिनय गर्दै क्षति नगर्नु भन्ने आग्रह गर्दथे।

अपर्झट पर्ने बिपदाले घात नगरोस् भनी बिभिन्न प्रकारका अदृष्य शक्तिको स्थापना (साश्वत या काल्पनिक) गर्दै नियमित प्रार्थना गर्न थाले। यसरी विश्वभरी मानव र बिभिन्न जिवको आकृतिमा अनेकौ शक्तिको स्वरुप निर्माण गरिँदै उपासना हुँदै गयो।

ती शक्ति ढूंगामा र मूर्तिमा प्रतिस्थापन गरिन्थ्यो, मन्त्रबाट जगाइन्थ्यो। ती शक्ति पुज्न मन्दिर बनाइन्थ्यो। मन्दिरमा मन्त्र जप्न, पूजा गर्न पूजारी खटाइयो। त्यस्तो मान्यता र आस्था हुनेहरूलाई अहिले, पाश्चात्य साहित्यमा, बहुल आस्तिक (पोलिथिएस्टिक) भनिन्छ।

पूर्वीय सभ्यतामा पनि उहिल्यै खसानबाट पामिरको पठार हुँदै तृपिष्टक लागेका नास्तिकहरुले इश्वर, आत्मा, प्रकृति, र मानबको सम्बन्ध खोज्दै गए, बुझेका सार ज्ञानलाई ऋचामा बाँध्दै गए, फलस्वरुप वेदको निर्माण भयो। मानिसले नियममा बस्न सके शान्ति मिल्ने भनी मनुस्मृतिका नियम रचे।

यही वेद र मनुस्मृतिले नै पूर्बीय दर्शनमा पूर्ण नास्तिकता नै आस्तिकता हो भन्ने सिकायो। यद्यपि आफ्नो आस्थाको खेतीलाई बचाई राख्न पुजारीहरुले राज्यका प्रमूखहरुलाई प्रभावमा पारेर भयको खेती गरीरहे, मन्दिरलाई खेत बनाए, मनुस्मृतिलाई अपब्याख्या गरे, वेदलाईसमेत बर्जित गर्ने कुचेष्टा राखे। अनेक नियम थोपरे, आर्थिक बोझ बढाए र सर्वसाधारणको जीवन कष्टकर बनाए।

समयको अन्तरसँगै पद र प्रतिष्ठा प्राप्त केही पुजारीले आफ्नो भौतिक शरीरको बिलासिताको मोहमा परी अदृश्य शक्तिको बिश्वास कम गर्न थाले। शक्ति र नियतिको डर नभएपछि अदृश्य शक्तिको नाम नै दुरुपयोग गर्न थाले, अकर्मण्य भए। शक्ति आर्जन गर्न भयको खेती गर्न थाले।

शक्ति उपासना पश्चात कुकर्म पनि पखालिने भन्दै आस्था कै ब्यापार गर्न थाले। कुकर्म पखाल्न सकिने भएकोले समाजमा अपराध बढ्दै गयो। अपराधीका बर्बरता खप्न नसकी केहीको अदृष्य शक्तिको बिश्वासप्रति बिरोधाभाष राखे। समाजमा द्वन्द्व श्रृजना भयो, क्रमसः हत्या हिंसा र अपराधले प्रश्रय पाउँदै गयो।

जव पुजारीबाट नै धोका र घात हुन थाल्यो, समाजमा अदृश्य शक्तिप्रति बिश्वास नगर्नेहरुले आफ्नो समूह बढाउँदै गए। त्यस मध्ये नेतृत्व लिने केहीले युग परिवर्तन गर्न सके, जसलाई नै अवतार भन्न थालियो। उसैको शरीरलाई परम इश्वर र आत्मालाई परम आत्मा ठानियो। सम्मान दिन मूर्तिमा प्रतिस्थापन गरेर पुजियो। र फेरि अर्को एक नयाँ आस्था जन्मियो।

करिब तीनहजार बर्षदेखि अहिले आधुनिक युगसम्म आइपुग्दा केहीले पुजारीको अन्याय बिरुद्ध सशक्त आवाज उठाए, कतिले मूर्ति र मन्दिर तोडे, कतिले ज्यान गुमाए। तिनै क्रान्तिबीरको नाममा कथा लेखियो। पुजारीले तिनै अवतारलाई नै एक मात्र अदृश्य शक्तिको मार्ग वा श्रोत बताउँदै नयाँ र पृथक आस्थाको शृजना गरी भयको खेती गर्न थाले।

तिनै नास्तिक ब्याक्तिहरुको नाममा धनी र शक्तिशाली आस्थाका केन्द्र फस्टाएका छन् जस मध्ये प्रमुख रुपले चिनिने केहीमा बौद्ध, इशाई, र इस्लाम प्रमुखमा पर्दछन्। त्यस्तै सिकेर, बहुल आस्थाका पनि केन्द्र खोलेर पूर्वीय सभ्यताका पनि ब्यापार फस्टाइएको छ। आस्थालाई ब्यापार बनाउन नै सम्प्रदाय बीच मनमुटावको बीज रोपिन्छ।

आस्था, चाडपर्ब, रीतिरिवाज, चलनचल्ती, सनातन फरक फरक अवयव हुन्। चाडपर्ब कुनै एउटा राष्ट्रमा सबैले एक भएर मनाउछन भने त्यो पर्व मनाउने प्रत्येक समूहको आआफ्नो तरिका वा रीतिरिवाज हुन्छ। एकै चाडपर्ब मान्ने समूहमा पनि कोही खीर चढाएर प्रकृति पुज्छन् भने कोही रक्सी चढाएर।

कोही रातो टीका लगाउँछन् भने कोही सेतो। त्यस्तै सनातन पनि सबैको फरक हुन्छ। आफ्नो परापूर्वकालदेखि मानी आएको मान्यतालाई निरन्तरता दिनु नै सनातन हो। उदाहरणको लागि बिहेकै सनातनमा पनि कोही केटा माग्न जान्छन् त कोही केटी माग्न, कोही भागेरै बिहे गर्ने पनि सनातनका भेटिन्छ।

सबैले आ-आफ्नो सनातन कायम गर्नै पर्छ, यो मान्यतामा कि आफ्ना पूर्वजहरुले आफ्नो बंश र समूहको घात पक्कै चाहेनन्। त्यही सनातनले नै रीतिरिवाज कायम गर्‍याे र कालान्तरमा चाडपर्व मान्ने तरिकाको श्रृजना गर्‍याे। यी सबै फरक फरक रीतिरिवाज, चाडपर्व, र सनातनलाई एकै कसीमा बाध्ने त्यो ठाउँको आस्था हो।

सबै सम्प्रदायमा आफ्नो मात्र आस्था सही र आफ्नो सम्प्रदाय महान भन्ने अभिमान ब्याप्त मानिसहरु अनेक पाइन्छन्। उनीहरुलाई आफ्नो चलनचल्ती र रीतिरिवाज मात्र नैतिक, स्वस्थ्यबर्धक र बैज्ञानिक लाग्ने गर्दछ। त्यस्तो कृष्णमतलाई पनि लाग्दछ, बुद्धिमतलाई पनि लाग्दछ, इसाइलाई पनि लाग्दछ र मुसलमानलाई पनि लाग्दछ।

जीविकोपार्जनको लागि बसाईसर्ने क्रममा बिभिन्न आस्थाका मानिस एकै ठाउँमा रहनु स्वभाविक हो। तर केही भने आफ्नो आस्था नयाँ ठाउमा लाद्ने उद्देश्यले बिभिन्न समाजमा छिर्छन् र समाजलाई धमिलो बनाउने कारण बन्दछन्। फलस्वरुप धोकाबाट, लोभलालचबाट, दण्डबाट र अनेक चाल चलेर आफ्नो आस्था बिकाउन खोज्छन्।

आस्थाको नाममा दोकान स्वरुपको झकिझकाउ मन्दिर बनाउँछन्, रकम संकलन गरेर ठूलो ब्यापार गर्छन्। ब्यापारको लागि ग्राहक पनि चाहियो। ग्राहक तान्न प्रलोभन देखाई अझ आस्थाका घोषणापत्र बाढ्छन्।

लोभ, लालच, दण्ड, र डरको प्रभावले अरुमाथि नँया आस्था लाद्नु अत्याचार हो। त्यसैको कारणले नै आज प्रत्येक समाजमा साम्प्रदायिक द्वन्द्व श्रृजना भएको छ। त्यस्ता अतिबादी ब्यापारीहरुलाई चिनेर समाजबाट बाहिर निकाल्नु नै सनातनको रक्षा हो, समाजको कर्तव्य हो, धर्म हो, सबैको कर्म हो।

कर्मण्डेवाधिकारस्ते।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *