के गगनको राजीनामा स्वीकृत हुन्छ?

डिसी नेपाल
५ चैत २०८२ ११:४४
64
Shares

काठमाडौं। शुब्रबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता पार्टी उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्। पार्टी सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति शर्माले बैठकको अध्यक्षतामा गर्ने भएका हुन्।

थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन्।

राजीनामापछि विकसित परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। उक्त बैठकमा उहाँको राजीनामामाथि विस्तृत छलफल हुने बताइएको छ। उक्त बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने र राजीनामा फिर्ता लिन आग्रह गर्ने छ।

बैठकमा उनले सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउने छन्। बैठकमा कांग्रेसले निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ भने उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन्।

कांग्रेसले यसअघि नै सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ। पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *