लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

डिसी नेपाल
५ चैत २०८२ २०:४५
16
Shares

लुम्बिनी। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताएका छन्।

उद्घाटन समारोहमा पर्यटनमन्त्री सिन्हाले विश्व शान्तिका लागि लुम्बिनीले पुनः एकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विभिन्न देशबाट आएका प्रतिनिधिहरूको उपस्थितिले लुम्बिनीलाई साँच्चिकै अन्तर्राष्ट्रिय मञ्च बनाएको बताए। “आजको अशान्त विश्वमा भगवान बुद्धको करुणा र अहिंसाको सन्देश पुनर्जीवित गर्नु अपरिहार्य छ,” उनले भने, “नेपाल आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाउँदै विश्व समुदायसँग सहकार्य गर्न चाहन्छ।”

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले वर्तमान अन्तर्राष्ट्रिय परिवेश झन् जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गरे। उनले चीन शान्तिपूर्ण विकासको मार्गमा अघि बढ्दै विश्वका शान्तिप्रेमी राष्ट्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। नेपाल–चीनबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई उल्लेख गर्दै उनले लुम्बिनीले विश्व शान्तिको प्रतीकका रूपमा स्थापित भइसकेको धारणा राखे। “यो महोत्सवले दुई देशबीचको ऐतिहासिक मित्रता र बौद्ध सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु,” उनले भने।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी सम्पूर्ण मानव सभ्यताको साझा धरोहर भएको उल्लेख गर्दै शान्ति, सहअस्तित्व र मानवताको सन्देशलाई खेलकुदमार्फत विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले अन्तर्राष्ट्रिय शान्ति म्याराथनसहित विभिन्न खेलकुद गतिविधिहरूले शान्ति र विकासको सशक्त माध्यमका रूपमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। “यस अभियानले विश्व समुदायमा अहिंसा, एकता र भाइचाराको सन्देश प्रवाह गर्नेछ,” उनले भने।

कार्यक्रमको स्वागत मन्तव्य दिँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धको शिक्षालाई केवल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए। उनले ध्यान र साधनाबाट मात्र वास्तविक शान्ति प्राप्त गर्न सकिने उल्लेख गर्दै लुम्बिनी सम्पूर्ण मानव समुदायका लागि खुला आध्यात्मिक केन्द्र भएको बताए। “लुम्बिनी केवल बौद्ध धर्मावलम्बीका लागि मात्र होइन, शान्ति र सद्भाव चाहने हरेक व्यक्तिका लागि हो,” उनले भने, “यहाँको अनुभवले सामान्य जीवनलाई आध्यात्मिक जीवनमा रूपान्तरण गर्न सक्छ।”

महोत्सवअन्तर्गत शुक्रबार मायादेवी मन्दिर परिसरमा विशेष ध्यान (मेडिटेशन) कार्यक्रम आयोजना गरिनेछ भने शनिबार अन्तर्राष्ट्रिय शान्ति म्याराथन सञ्चालन हुनेछ। यससँगै सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि समावेश गरिएको छ।

लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन्।‌




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *